संयुक्त राज्य अमेरिकाको लुइसियानामा आइतबार बिहान भएको भयावह घरेलु हिंसाको घटनाले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ। घटनामा एक व्यक्तिले आफ्नै परिवारका अधिकांश सदस्य रहेका आठ बालबालिकालाई गोली हानेर हत्या गरेका छन्। तीन फरक–फरक घरमा फैलिएको यो हिंसा पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा देशकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डका रूपमा दर्ज भएको छ।
प्रहरीका अनुसार ३१ वर्षीय शामार एल्किन्सले बिहानै तीन स्थानमा आक्रमण गरेका थिए। उनी घटनापछि कारज्याक (बलपूर्वक सवारी साधन कब्जा गर्ने) गरिएको गाडीमा भागेका थिए, तर प्रहरीले पछ्याउँदै जाँदा अन्ततः उनीमाथि गोली चलाएर नियन्त्रणमा लिएको थियो, जसका क्रममा उनको मृत्यु भयो। प्रहरी अधिकारी क्रिस बोर्डेलनका अनुसार संदिग्धले गाडीबाट बन्दुकसहित बाहिर निस्किएपछि प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाएको थियो।
यस घटनामा तीनदेखि ११ वर्ष उमेर समूहका आठ बालबालिकाको ज्यान गएको क्याडो पारिश कोरोनर कार्यालयले पुष्टि गरेको छ। मृतकमध्ये तीन बालक र पाँच बालिका रहेका छन्। सात जना एकै परिवारका दाजुभाइ–दिदीबहिनी थिए भने एक जना उनीहरूको काकाका छोरा (भाइ) थिए। प्रहरीका अनुसार मारिएका आठमध्ये सात जना बालबालिका आक्रमणकारीकै सन्तान थिए।
घटनामा दुई महिला गम्भीर घाइते भएका छन्, जसमध्ये एक जना मारिएका केही बालबालिकाकी आमा हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू दुवैको टाउकोमा गोली लागेको छ। एक महिलाले अनुहारमा गोली लागेपछि छिमेकीलाई खबर गरिन्, जसको आधारमा बिहान ५ः०० देखि ५ः३० बजेको बीचमा आपतकालीन सेवा ९११ मार्फत प्रहरी घटनास्थल पुगेको थियो।
एएफपीका एक भिडियोग्राफरले घटनास्थलमा रहेको सानो दुईतले घरको सेतो ढोकामा पाँचवटा गोलीका प्वाल देखिएको जनाएका छन्। घर बाहिर स्थानीयवासीहरूले श्रद्धाञ्जलिस्वरूप फूलहरू राखेका थिए, जसले घटनाप्रति समुदायको पीडा झल्काउँछ।