पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा आगामी बैशाख १२ गते वडा कार्यालय परिसरमा उक्त साहित्यिक मेला सञ्चालन गरिने कार्यक्रमका संयोजक राजेन्द्र भण्डारी ले जानकारी दिएका छन् ।
यस साहित्य पर्वलाई स्थानीय स्तरमै सृजनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । कार्यक्रमअन्तर्गत “साहित्यिक अक्षर र अल्गोरिदम” विषयमा विशेष अन्तरक्रिया आयोजना गरिनेछ, जसले परम्परागत साहित्य र आधुनिक प्रविधिबीचको सम्बन्धबारे बहस र विचार आदान–प्रदानलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, कार्यक्रममा विविध साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएका छन् । कविता वाचन, चित्रकला प्रदर्शनी तथा स्थानीय कलाकारहरूको सांगीतिक र सांस्कृतिक प्रस्तुतीले मेलालाई अझ आकर्षक बनाउनेछन् । कार्यक्रममा विवेक श्रेष्ठ, डा. कपिल अधिकारी, सरस्वती प्रतीक्षा, दुर्गा बराल वात्सायन, नारायण वाग्ले लगायतका ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति रहनेछ । साथै युवा व्यवसायीहरू नारायण पौडेल र सरोज भण्डारी सहित स्थानीय साहित्यकार, कलाकार तथा चित्रकारहरूको पनि उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।
वडा नं. १३ मा दोस्रो पटक आयोजना हुन लागेको यस पर्वको मुख्य उद्देश्य उक्त क्षेत्रलाई साहित्यिक गन्तव्यका रूपमा स्थापित गर्नु रहेको आयोजकले बताएका छन् । यस प्रकारका कार्यक्रमहरूले साहित्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।
साहित्य, कला र सांस्कृतिक विविधताको संगमका रूपमा आयोजना हुन लागेको यो मेला स्थानीय बासिन्दा मात्र नभई पोखरा तथा आसपासका क्षेत्रका साहित्यप्रेमीहरूका लागि पनि महत्वपूर्ण आकर्षण बन्ने अपेक्षा गरिएको छ ।