सुचना, समाचार र मनोरन्जन

निर शाह निर्देशित ‘कमला मिस’ साउन २२ देखि प्रदर्शनमा

काठमाडौं :

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बनेको फिल्म ‘कमला मिस’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ।बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

मनोवैज्ञानिक कथावस्तुमा आधारित उक्त फिल्ममा निर्देशक शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारको मुख्य भूमिका रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन्। फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

छायांकन शिवराम श्रेष्ठ, संगीत युग भुसाल र कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। निर्माण व्यवस्थापन भोला सुबेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशन सगर बोहराले गरेका छन्।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतो बाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.