सुचना, समाचार र मनोरन्जन

लाग्यो उभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरू

गोरखा : उभौली मेला सुरु हुन लागेपछि बेशी झरेका गोठालाहरू लेक तिर लागेका छन्। जिल्लाको सबैभन्दा धेरै भेडा पालन गर्ने चुमनुब्री गाउँपालिका–३ का करिब २५ हजार भेडाबाख्रा लेक उकालिएको स्थानीय गणेश कार्कीले बताए।

साबिक सिर्दिबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा धेरै भेडा पालन गर्ने गाउँ हो। हिउँदमा माथिल्लो लेकबाट आरुघाट, धादिङ हुँदै लम्जुङको बेशीतिर झारिएको भेडाबाख्रा पुनः लेक तिरै उकालो लागेको कार्कीले जानकारी दिए।

उनी भन्छन्, ‘बेशी झरेको भेडाबाख्रा केही दिनदेखि पुनः माथि उकालो लागेको छ। दैनिक तीन चारसय जति भेँडा माथि चढेको छ। आज मात्र पनि तीन, चारजना गोठालाका करिब ४०० वटा भेडा एकै पटक लावालस्कर लाएर उकालो लागेका छन्।’

चुमनुब्री ३ को पाङसिङ, सिर्दिबास, न्याकफेदी, घट्टेखोला, नाग्चेत लगायत क्षेत्रका करिब ७० घरधुरी किसानले भेँडाबाख्रा पालन गरेका वडाअध्यक्ष रामकुमार गुरुङको भनाइ छ। ‘भेडाबाख्रा बेशीबाट गाउँमा ल्याउन थालेको केही दिन भयो। बिस्तारै पाङसिङबाट माथि उकाल्न सुरु हुन्छ’, उनले भने, ‘अहिले लेक लगेपछि एकैचोटी कात्तिक, मंसिरमा तल झार्छ।’

हरेक वर्ष हिउँदो लागेपछि लेकका भेडाबाख्रा खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लम्जुङतिर झारिन्छ। कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म झार्ने गर्छन्। चैत, बैशाख लागेपछि पुनः लेक लैजाने चलन रहेको वडाअध्यक्ष गुरुङले बताए।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार पाँच सय भेडा र आठ हजार पाँच सय बाख्रा पालिन्छ। त्यस्तै ६ हजार पाँच सय याकचौरी पालन गरिएको केन्द्र प्रमुख अनन्त कोइरालाले बताए। लेकबाट बेशी झार्ने पनि मौलिक परम्परा छ।

‘लेकको गोठबाट वेशीचाहिँ राम्रो बार हेरेर झार्ने गर्छन्। लेकको गोठबाट पनि एकै दिनमा बेशी झार्दैनन्। हावापानीसंग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइ पुर्‍याउँछन्’, पाङसिङका विकास गुरुङ भन्छन्, ‘अनि गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजानचाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ।’

अहिले धमाधम बेशीबाट गाउँमा भेडा ल्याउन थालिएको उनको भनाइ छ। ‘गाउँमा ल्याएको भेडाबाख्रा अब बिस्तारै बिस्तारै उँभौली लागेपछि जेठ दोस्रो सातासम्ममा लेकको गोठतिर पुर्‍याइन्छ’, उनले भने। भेडाबाख्रा पालन गर्ने किसान धेरै भएकाले चुमनुब्री गाउँपालिका ३ मा गोठालाहरूलाई प्रोत्साहन कार्यक्रम लागु गरिएको छ।

‘गोठालाहरूलाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, गोठालाका लागि त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गर्ने गरेका छौँ’, चुमनुब्री ३ का वडाअध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठाला स्वयंको २० प्रतिशत लागत साझेदारीमा यस्तो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ।’

पालिकाले भेँडाबाख्रा पालन गर्ने किसानलाई प्रोत्साहन दिन कार्यक्रम गरिरहे पनि बर्सेनि भेडाबाख्रा पालन गर्ने किसानको संख्या घटिरहेको उनको भनाइ छ। गोठालाहरूलाई प्रोत्साहन स्वरुप चुमनुब्री गाउँपालिकाले यस वर्ष घुम्ती गोठ सामाग्री वितरण कार्यक्रम संचालन गरेको पालिकाको प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले बताए।

कार्यक्रममा ९ वटा पशु फार्मको करिब डेढसय जना आबद्ध रहेको उनले जानकारी दिए। गाउँपलिकाले भेडा गोठालाहरूलाई प्रोत्साहन गर्ने नीति सहित विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको उनको भनाई छ।

Leave A Reply

Your email address will not be published.