काठमाडौं :
फिल्म ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन्। उनलाई निर्माण पक्षले फिल्मका लागि अनुबन्ध गरेको हो। रोचक कुरा के छ भने उनले बिहान मात्रै अर्को फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरेका थिए। सोही समयमा उनी यता महाराजधिराजमा पनि अनुबन्ध भएका हुन्।
यस फिल्मका लागि यसअघि पूजा शर्मालाई इन्ट्री भइसकेको छ। निर्माण पक्षका अनुसार यस फिल्ममा दर्शकले
सुशीललाई मुख्यमध्ये एक भूमिकामा देख्न सक्नेछन्। यस फिल्मका लागि निर्माण टिमले सुशीलका अलवा पुष्प खड्का,पूजा शर्मा,केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह,आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकारलाई अनुबन्ध गरिसकेका छन्।
यस कारण यो फिल्मका लागि कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ। यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारी रहेको भनिएता पनि अहिलेसम्म निर्माण टिम फ्लोरमा जान सकेको छैन। परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा ८० जना कलाकार रहनेछन्। पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन्। सुनसरीको श्रीलंका टापुबाट छायांकन थालिएको यो फिल्ममा काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा पनि खिचिनेछ। यो फिल्मलाई नबराज थापाले खिच्नेछन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मका लेखक निर्देशक सेन स्वयंको छ। ‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन्। ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।