सुचना, समाचार र मनोरन्जन

सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री, नाजीर हुसेन पनि सम्मानित

सर्लाही :

सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव सम्पन्न भएको छ। तीन दिनसम्म चलेको महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए।

पहिलोपटक मधेश प्रदेशमा आयोजना गरिएको महोत्सवले स्थानीय स्तरमा नेपाली सिनेमाको प्रवर्द्धनमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न जातजातिका पारम्परिक पहिरनसहित झाँकी प्रस्तुत गरिनुका साथै मधेशका कथा र पर्यटनमा केन्द्रित संवाद कार्यक्रमहरू पनि आयोजना गरिएका थिए।

सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा दिनेश डी।सी। सहभागी थिए। कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यस्ता कार्यक्रमले स्थानीय क्षेत्रको प्रचार–प्रसारमा सहयोग पुग्ने बताए।

त्यस्तै, छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीलगायतको उपस्थिति रहेको कार्यक्रममा नाढीतालमा विभिन्न विधाका उत्कृष्ट स्रष्टालाई पुरस्कार वितरण गरिएको थियो। सो अवसरमा नाढीतालसम्बन्धी पुस्तकसमेत विमोचन गरिएको थियो।

महोत्सवअन्तर्गत ‘मोहर’ उत्कृष्ट फिल्म घोषित भएको छ भने ओम प्रतीक गुरुङ उत्कृष्ट निर्देशक बने। ‘गुन्युचोलो’बाट नाजीर हुसेन उत्कृष्ट अभिनेता र ‘कोशेढुंगा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री घोषित भए।

 यस्तै, ‘गुन्युचोलो’का समुन्द्र भट्ट र नाजीर हुसेनले उत्कृष्ट स्क्रिनप्ले अवार्ड पाए भने ‘माइतीघर’का निर्देशक मिलन तामाङले जूरी अवार्ड जिते। ‘कोशेढुंगा’बाट मन्जिल कुमार इन्करेज्मेन्ट अवार्ड, नहकुल खड्क उत्कृष्ट सम्पादक र बाबु श्रेष्ठ उत्कृष्ट छायाँकार घोषित भए। ‘नाक्छोंग’ उत्कृष्ट आदिवासी फिल्म र ‘निलो आकाश’ उत्कृष्ट सर्ट फिल्म घोषित भएका छन्।

Leave A Reply

Your email address will not be published.