जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा गाडी चलाउन रोक लगाएको छ । काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गाडी आवागमन पूर्णरूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले दिउँसो सवा ४ बजे निकालेको सूचनामा लगातारको वर्षाले पहिरो, ढुङ्गा खस्ने, सडक कटान तथा खोलानालामा बहाव बढ्ने जोखिम उच्च भएकाले यात्रु तथा गाडीको सुरक्षालाई प्राथमिकता दिँदै आवागमन बन्द गरेको उल्लेख छ । वर्षा रोकिएपछि सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइएको जानकारी गराइने प्रहरीले जनाएको छ ।
कुशादेवी क्षेत्रमा वर्षा हुँदा रोशी खोलामा पानीको सतह बढेपछि आज बिहानदेखि बीपी राजमार्गमा गाडी आवागमन पूर्णरूपमा बन्द गरिएको थियो । डाइभर्सन मर्मत गरी दिउँसो गाडी चलाएकोमा पुनः बन्द गरिएको हो ।
विशेषगरी कटुञ्जेदेखि मङ्गलटार सडक खण्डको घुमाउने नजिक सडकमा वर्षासँगै समस्या आउने गरेको छ । त्यहाँ रोशी खोलामा अस्थायी डाइभर्सन बनाइएको छ ।
गएको वर्ष असोजमा बाढीले त्यहाँ सडक बगाएको थियो । त्यसपछि खोलामा डाइभर्सन बनाएर त्यहीँबाट गाडी आवागमन गरिँदै आएको छ । गएको चैतमा पनि बाढीले सडक बगाएको थियो ।