काठमाडौँ :
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार नेपाली चलचित्र ‘लालीबजार’ र ‘रोल नं १’ को व्यावसायिक यात्रा सुखद देखिएको छ। स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लालीबजार’ १० करोड क्लबको नजिक पुगेको छ भने जेठ १५ गतेदेखि प्रदर्शनमा आएको ‘रोल नं १’ले डेढ करोडको आँकडा पार गरेको छ।
बोर्डको आइतबार रातिसम्मको तथ्यांक अनुसार गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ले कुल ९ करोड २८ लाख १४ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। हलमा प्रदर्शन भएको डेढ महिना बितिसक्दा पनि यो चलचित्रले व्यावसायिक निरन्तरता पाइरहेको छ। हालसम्म यस चलचित्रलाई ३ लाख १५ हजार ७२४ जना दर्शकले हेरेका छन्। यम थापाको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा स्वस्तिमाका साथै रवीन्द्रसिंह बानियाँ र मुकुन्द श्रेष्ठको मुख्य अभिनय रहेको छ।
यसैगरी, गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रोल नं। १’ ले घरेलु बक्स अफिसमा १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। हलमा लागेको करिब एक महिना पुग्न लाग्दा यस चलचित्रले ५७ हजार १३२ जना दर्शक पाएको छ। पछिल्लो सात दिनमा मात्रै यस चलचित्रले २० लाख ३० हजार रुपैयाँको व्यापार गरेको बोर्डको रिपोर्टमा उल्लेख छ। जोन योञ्जनको निर्देशन र ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्माता विनोद पौडेलको निर्माण रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली लगायतका कलाकारको मुख्य भूमिका छ।
सोही मिति जेठ १५ मा प्रदर्शनमा आएको अर्को चलचित्र ‘कुम्भ’ को व्यापार भने निकै कमजोर देखिएको छ। रणधीर श्रेष्ठ निर्देशित यस एक्सन(ड्रामा चलचित्रले हालसम्म मात्र ४ लाख २५ हजार ८८५ रुपैयाँ ग्रस कलेक्सन गर्दै १ हजार ८१५ वटा टिकट बिक्री गरेको छ। गत शुक्रबारबाट नयाँ नेपाली चलचित्र ‘आइएम जित बहादुर’ हलमा प्रदर्शनमा आएको छ।