Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन,मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
- डोकोमा घाँस बोकेर सडक–सडक डुल्दै ‘गौँथली’ सिम्रन
- ‘हिमालयन इन्टरनेसनल अवार्ड’ मा अमर वान्तु र हरि ढुङ्गेललाई ‘दीर्घसाधना सम्मान’ प्रदान
- आइआइएफटिको ‘ड्रेस टु इम्प्रेस’: प्रेशा, सुस्मिता, जया र सृजना बने उत्कृष्ट फेसन डिजाइनर
- भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली
- दीपाको‘ब्रेन ट्युमर’को शल्यक्रिया सफल, आइसियूबाट जनरल वार्डमा सारियो
- ‘गौँथली’को अमेरिका राइट्स सेभेन सिसले किन्यो, प्रदर्शन मिति तय
- बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
- नयाँ शैक्षिक कन्सल्टेन्सी नियमावलीविरुद्ध व्यवसायी एकजुट, आन्दोलनको चेतावनी
- कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
तनहुँ,
तनहुँको आँबुखैरेनी गाउँपालिका- २ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ । प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो समयदेखि ओझेलमा पर्दै आएकामा पछिल्लो समय पर्यटकीय सम्भावनालाई उजागर गर्दै व्यवस्थित विकासका लागि स्थानीय तह सक्रिय बनेको हो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानसहित प्राविधिक टोलीले गुफा क्षेत्रको स्थलगत अवलोकन गरी संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे अध्ययन गरेको छ । अवलोकनका क्रममा गुफाको वर्तमान अवस्था, संरक्षणका चुनौती, पर्यटक आकर्षित गर्न आवश्यक पूर्वाधार तथा दीर्घकालीन विकास योजनाका विषयमा विस्तृत छलफल गरिएको वडा सदस्य मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष चुमानले चमेरा गुफा आँबुखैरेनीको महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको संरक्षणसँगै पर्यटन क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आवश्यक रकम विनियोजन गरी गुफा क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिइने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक विकासको आधार बनाउने लक्ष्य छ । चमेरा गुफा त्यस्तै सम्भावना बोकेको स्थल हो । यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक बजेट तथा योजना कार्यान्वयनमा ल्याइनेछ ।” उहाँका अनुसार गुफासम्म सहज पहुँचका लागि पदमार्ग निर्माण, सूचना बोर्ड स्थापना, सुरक्षाका आवश्यक व्यवस्था, सरसफाइ तथा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ । यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
स्थानीयवासीका अनुसार चमेरा गुफा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । गुफाभित्र ठूलो सङ्ख्यामा चमेरा बसोबास गर्ने भएकाले यस क्षेत्रको जैविक विविधता संरक्षणका दृष्टिले पनि विशेष महत्व रहेको छ । उचित प्रचारप्रसार र पूर्वाधार विकास हुन सके यस क्षेत्र पर्यटनको नयाँ गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।
गाउँपालिकाले पर्यटन विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना, होटल तथा व्यवसाय प्रवर्द्धन, कृषि उत्पादनको बजार विस्तार तथा आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरेको छ । पर्यटनसँग जोडिएका सम्भावनाको उपयोग गर्न सके गाउँपालिकाको समग्र आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।