सुचना, समाचार र मनोरन्जन

फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक: जेठ ८ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौँ :

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित फिल्म ‘मितज्यू’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनका बीच निर्माण टिमले फिल्मको झलक (ट्रेलर) सार्वजनिक गरेको हो।

सार्वजनिक ट्रेलरले नेपाली समाजको पुरानो मौलिक परम्परा ‘मितेरी साइनो’ र ग्रामीण परिवेशको कथालाई मुख्य विषयवस्तु बनाएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा छन्, जो गाउँमा भित्रिएको नयाँ बाटोमा गाडी चलाउने चालकका रूपमा देखिएका छन्। उनीहरूबीचको मित्रता, मान्छे छिटो गन्तव्यमा पुर्‍याउने प्रतिष्पर्धा र सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा रोचक ढंगले प्रस्तुत गरिएको छ।

यसै फिल्ममार्फत चर्चित बाल कलाकार एवं नृत्याङ्गाना तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। ट्रेलरमा उनको संवाद र ग्रामीण लवजलाई विशेष प्राथमिकता दिइएको छ। फिल्ममा पुस्कर गुरुङ,शिशिर वाङ्देल,राज थापा, सुवर्ण थापा लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ। अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ।

फिल्मको व्यापारिक पक्ष पनि बलियो देखिएको छ। नेपालमा आगामी जेठ ८ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको यस फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (ओभरसिज राइट्स) हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा रिलिज अगावै ‘सोल्ड आउट’ भइसकेको निर्माण पक्षले जनाएको छ। फिल्मको डिजिटल अधिकार ओएसआर (OSR) ले खरिद गरेको छ भने आरआर फिल्म्सले यसलाई देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ।

Leave A Reply

Your email address will not be published.