सुचना, समाचार र मनोरन्जन

मेटलाइफ र खल्ती सुरक्षाबीच साझेदारी: ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक

काठमाडौं :

 मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक नवीन डिजिटल बीमा योजना सार्वजनिक गरेका छन्। नेपाली बीमा बजारलाई पूर्णतः प्रविधिमैत्री बनाउने लक्ष्यका साथ सार्वजनिक गरिएको यो योजना अब खल्ती एपमार्फत सहजै उपलब्ध हुनेछ। परम्परागत बीमा प्रक्रियामा रहेका जटिल कागजी झन्झट र लामो समय कुर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै यो योजनाले वित्तीय सुरक्षालाई थप सरल, छिटो र सर्वसाधारणको पहुँचयोग्य बनाएको छ।

विशेषगरी मोबाइल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको ‘सुरक्षा ३६०’ योजना अन्तर्गत ग्राहकले खल्ती एपमा आफ्ना केही आधारभूत व्यक्तिगत विवरणहरू भरेर केही मिनेटभित्रै बीमा सुरक्षण प्राप्त गर्न सक्नेछन्। दैनिक रूपमा लाखौँ नेपालीले प्रयोग गर्ने डिजिटल प्लेटफर्ममार्फत बीमा सेवा प्रदान गर्दा यसले बीमाको पहुँच (Insurance Penetration) विस्तारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो योजनाले जीवन र स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण सुरक्षणहरूलाई एउटै छातामुनि समेटेको छ, जसले ग्राहकलाई फरक-फरक बीमा योजना व्यवस्थापन गर्नुपर्ने झन्झटबाट पूर्ण मुक्ति दिएको छ।

यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा र दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ। जीवन र स्वास्थ्यसँग सम्बन्धित सम्भावित आर्थिक जोखिमलाई समग्र रूपमा सम्बोधन गर्न यो योजनालाई सिल्भर, गोल्ड र प्ल्याटिनम गरी तीनवटा प्याकेजमा वर्गीकरण गरिएको छ। ग्राहकले आफ्नो आर्थिक आवश्यकता र बजेट अनुसार उपयुक्त प्याकेज छनोट गर्न सक्नेछन्।

१८ देखि ५० वर्ष उमेर समूहका नागरिकका लागि उपलब्ध यस योजनामा रु. २३ लाखदेखि रु. ४६ लाखसम्मको उच्च बीमा सुरक्षण प्राप्त गर्न सकिनेछ। वार्षिक प्रिमियम (बीमाशुल्क) मात्र रु. ३,८१० बाट सुरु हुने भएकाले यो योजना धेरै नेपालीका लागि किफायती र प्रभावकारी हुने देखिएको छ। मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले यो योजनाले जीवनका विभिन्न चरणमा आवश्यक पर्ने वित्तीय सुरक्षणलाई सहज बनाएको बताउँदै यसले नेपालीहरूलाई वित्तीय सुरक्षातर्फ सचेत र जिम्मेवार बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.