सुचना, समाचार र मनोरन्जन

उपासना र सोनमाको ‘जलाकी’ ३९ दिनमा प्याकअप

काठमाडौं :
अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘जलाकी’को इन्डक्ल्याप गरिएको छ। गत शनिबार पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै ३९ दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो।
शनिबार पोखरामा गीतको दृश्य खिचिएको थियो। जहाँ सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ। छायांकन सकिएसँगै पोष्ट-प्रोडक्सनको काम सुरु गरिएको निर्देशक अशोकले बताए। केही दिनमा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ।
यो सिनेमाको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । निर्देशक अशोकसँग उनले ‘खुस्मा’पछि दोस्रो पटक सहकार्य गरेकी हुन्। यो सिनेमाबाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी थिइन्। जलाकीलाई लिएर पनि उपासना निकै उत्साहित देखिएकी छन्।
त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमामा उपासनासहित सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर,संगीता थापा, भावना मगर, राज काउचा गर, विषेश भूमिकामा क्याप्टेन बिजय लामा र बाल कलाकारमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई, रिन्ची धनहा मगरको अभिनय छ। यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गरेकी हुन्।
‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ। कसैको सम्झना र मायाको प्रतिकको रुपमा जलाकी बनाउने गरिन्छ । सोही कथामा निर्माण भएको यो सिनेमाको छायांकन पहिलो, दोश्रो र तेस्रो गर्दै तिन चरणमा गरिएको हो।

रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भागमा छायांकन गरिएको सिनेमाले मगर र गुरुङ समुदायको सँस्कृतीलाई झल्काउने छ । सिनेमाका निर्माताहरुमा ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

एम मिडिया प्रालीको व्यानरमा निर्माण भएको सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्टको गीत रचना रहेको छ।निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो। खुस्मा बक्सअफिसमा हिट भएकाले निर्माण टिम जलाकीलाई लिएर पनि उत्साहित देखिएको छ ।

Leave A Reply

Your email address will not be published.