काठमाडौं :
फिल्म ‘पाँच पाण्डव’को छायांकन ६६ दिनमा सम्पन्न भएको छ। गत चैत २ गतेदेखि सुरु भएको थियो। फिल्मको छायांकन कार्य पूरा भएपछि निर्माण टिमले ‘इन्डक्ल्याप’ अंकित केक काट्दै खुसीयाली मनाएको छ।
निर्देशक वसन्त निरौलाले फिल्मको छायांकनमा कुनै पनि प्रकारको सम्झौता (कम्प्रमाइज) नगरिएकाले त्यो पर्दामा स्पष्ट देखिने दाबी गरे। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा नेपाली सिने जगत्का दिग्गज तथा नयाँ पुस्ताका चर्चित कलाकारहरूको मुख्य अभिनय रहेको छ।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्। यसका साथै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरीको पनि फिल्ममा अभिनय रहेको छ।
लेखक सुशील पौडेलका अनुसार ‘पाँच पाण्डव’ एक सामाजिक फिल्म हो। यसले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बहरूलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथालाई प्रस्तुत गर्ने उनले स्पष्ट पारे। फिल्मको कथा, पटकथा तथा संवाद पनि पौडेलकै रहेको छ भने यसलाई श्याम तामाङले छायांकन गरेका हुन्।
काली रानी श्रेष्ठ निर्माता रहेको यस फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। श्रेष्ठले यसअघि गत वर्ष व्यावसायिक रूपमा सफल फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए। झापाका विभिन्न रमणीय र महत्त्वपूर्ण स्थानहरूमा अधिकांश दृश्य खिचिएको यो फिल्म आफ्नो नाम, कथावस्तु र सशक्त कलाकार आवद्धताका कारण दर्शकमाझ निकै प्रतिक्षित बनेको छ।