काठमाडौं :
मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरेको हो।
सार्वजनिक फर्स्ट लुक भिडियोमा अभिनेता विजय बराललाई (पुन्य चौलागाईँ) नामक वडा अध्यक्षको फरक र रोचक अवतारमा प्रस्तुत गरिएको छ। भिडियोमा ‘पुन्य चौलागाई वडा अध्यक्षु लेखिएको नेमप्लेट अगाडि बसेर उनले पैसाको लेनदेन गरिरहेको र उनको पछाडि भित्तामा ुभ्रष्टाचारलाई रोकौँ?’
लेखिएको बोर्ड देखाइएको छ, जसले नेपाली राजनीति र जनप्रतिनिधिहरूको दोहोरो चरित्रमाथि कसिलो व्यङ्ग्य प्रहार गरेको सङ्केत गर्छ। फिल्ममा विजय बरालका साथै प्रकाश घिमिरे,राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइली लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा फिल्मको कथा केन्द्रित छ। हिट फिल्म ुबेहुली फ्रम मेघौलीु निर्माण तथा निर्देशन गर्ने जोडी सजन काफ्ले र आकास बरालले यस फिल्मको संयुक्त निर्देशन एवं पटकथा लेखन गरेका हुन्।
कास्कीको धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगर लगायतका स्थानहरूमा छायांकन गरिएको यस फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन्। फिल्मलाई निशाल पौडेलले खिचेका हुन् भने चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन र अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ। काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डि सिएनले वितरण गर्ने यो फिल्मले तिहारको बिदामा दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।