काठमाडौं :
नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको र दर्शकको व्यापक प्रशंसा बटुल्न सफल चर्चित नेपाली चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले दिएको जानकारीअनुसार अस्ट्रेलियामा यस चलचित्रको प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो। नेपालको प्रदर्शनमा उत्कृष्ट समीक्षा र दर्शकको माया प्राप्त गरेपछि यस चलचित्रलाई लिएर प्रवासमा रहेका नेपाली दर्शकहरूमा पनि उच्च उत्साह देखिएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन्। कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस चलचित्रको अस्ट्रेलिया प्रदर्शनले त्यहाँ रहेका नेपाली चलचित्र प्रेमीहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताका रूपमा लगानी गरेका छन्।
कलाकारहरूको जीवन्त अभिनयका साथसाथै प्राविधिक पक्षसमेत निकै उत्कृष्ट रहेको छ। चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन र कृष्ण भण्डारीको रङ्ग संयोजन रहेको छ। त्यसैगरी, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन् भने डिकेश खड्गीले ध्वनि मिश्रणको जिम्मेवारी सम्हालेका छन्। अस्ट्रेलिया राइट्स बिक्री भएसँगै चलचित्रको विदेश प्रदर्शनको यात्रा थप फराकिलो बन्दै गएको छ।