काठमाडौँ :
फिल्म ‘जारी २’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक भएको छ। दर्शकहरूलाई घरमै बसेर फिल्मको मज्जा लिनका लागि सिनेमाघरले यो फिल्म विश्वभर एकसाथ स्ट्रिमिङमा ल्याएको हो। अब स्वदेश तथा विदेशमा रहेका जोकोही दर्शकले एचडी गुणस्तरमा मात्र १९९ र फोरके गुणस्तरमा २९९ रुपैयाँ तिरेर यो फिल्मको भरपूर मनोरञ्जन लिन सक्नेछन्।
यो फिल्म पूर्वी नेपालको लिम्बू समुदायको संस्कृति र ‘जारी प्रथा’मा आधारित एक उत्कृष्ट फिल्म हो। यस फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने बाँसुरी फिल्म्सको ब्यानरमा रामबाबु गुरुङ र उनको समूहले यसको निर्माण गरेका हुन्। यो फिल्म बक्स अफिसमा निकै सफल भएको ‘जारी’ फिल्मको दोस्रो शृङ्खला हो। यसमा दयाहाङ राई, मिरुना मगर र विजय बराल जस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा छन्। फिल्मले लिम्बू संस्कृति, उनीहरूको परम्परागत च्याब्रुङ नाच र पुरानो कालखण्डको कथालाई निकै सुन्दर ढङ्गले पर्दामा प्रस्तुत गरेको छ।
प्रविधिमैत्री बन्दै गएको सिनेमाघरले दर्शकको सहजताका लागि विभिन्न माध्यमबाट फिल्म हेर्न सकिने विस्तृत व्यवस्था मिलाएको छ। गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट ‘सिनेमाघर एप’ डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा चलचित्र हेर्न सकिन्छ। यसका साथै ठूलो पर्दामा फिल्मको मज्जा लिन चाहनेहरूका लागि एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएस जस्ता स्मार्ट टिभीहरूमा पनि यो एप सहजै डाउनलोड गर्न सकिन्छ। मोबाइलबाट क्रोमकास्टको प्रयोग गरेर वा कम्प्युटरमा सिधै वेब ब्राउजरमार्फत पनि ‘जारी २’ हेर्न सकिने सुविधा प्लेटफर्मले प्रदान गरेको छ।
पछिल्ला वर्षहरूमा ‘सिनेमाघर’ले नेपाली फिल्मलाई विश्वव्यापी दर्शकमाझ पुर्याउन र नेपाली सिनेमा उद्योगको बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। हलमा प्रदर्शन भइसकेका र दर्शकले अत्यधिक रुचाएका चलचित्रहरूलाई डिजिटल माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीहरूसम्म पुर्याउने कार्यमा यो प्लेटफर्म निकै सफल मानिएको छ। हाल सिनेमाघरमा ु ‘जारी २’का अलावा नेपाली बक्स अफिसमा चर्चा कमाएका ‘१२ गाउँ’, ‘पिताम्बर’, ‘गाउँ आएको बाटो’ लगायतका दर्जनौँ उत्कृष्ट फिल्महरू नियमित रूपमा स्ट्रिमिङ भइरहेका छन्।