काठमाडौं :
बालबालिका तथा स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर निर्माण गरिएको फिल्म ‘रोल नं १’ लाई विद्यार्थी र दर्शकले निकै मन पराएका छन्। बाल मनोविज्ञान र नेपाली शैक्षिक प्रणालीको मूल्यांकन विधिले बालबालिकामा पार्ने मानसिक दबाबको कथामा आधारित यस फिल्मले हलमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
फिल्मका निर्माता विनोद पौडेलले जुन उद्देश्य राखेर सिनेमा निर्माण गरिएको थियो, त्यो पूरा भएको बताए। तिमीले फिल्म हेर्ने विद्यार्थीहरूले यसलाई उत्कृष्ट भन्दै सबैले हेर्नैपर्ने प्रतिक्रिया दिएको जानकारी दियौ। विद्यार्थीले रुचाएपछि अब आफ्ना छोराछोरीलाई हलसम्म लगेर फिल्म देखाउने दायित्व अभिभावकको काँधमा आएको तिम्रो भनाइ छ।
विद्यार्थीको मनोभावना कसरी बुझ्ने र उनीहरूलाई कसरी बुझाउने भन्ने महत्त्वपूर्ण विषय फिल्मले उठाएकाले शिक्षक, अभिभावक र छोराछोरी सँगै बसेर यो फिल्म हेर्नुपर्नेमा निर्माता पौडेलले जोड दिए। गलत बुझाइ र दबाबका कारण बालबालिकाले भोग्नुपरेको मानसिक तनावलाई सिनेमाले पर्दामा जीवन्त रूपमा उजागर गरेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मका कलाकारहरू यतिबेला दर्शक भेट्न हलहलमा पुगिरहेका छन्। केही कलाकार उपत्यकाका र केही मोफसलका सिनेमा हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन्।
जोन योञ्जनको निर्देशन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। त्यस्तै बाल(कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस फिल्मको सह(निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। महेश दवाडीले लेखेको यस फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन्।