काठमाडौँ :
चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो सङ्गठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ। नेपाली चलचित्र, कला, साहित्य तथा सांस्कृतिक गतिविधिहरू विश्वव्यापी रूपमा फैलिँदै गएको वर्तमान अवस्थालाई संस्थागत रूप दिन सङ्घले यो महत्त्वपूर्ण कदम चालेको हो।
सङ्घको हालै बसेको कार्यसमिति बैठकले विभिन्न देशमा च्याप्टर गठनका लागि संयोजकहरू तोक्दै जिम्मेवारी प्रदान गरेको छ। यस निर्णयसँगै नेपाली चलचित्र पत्रकारितालाई प्रवासमा रहेका नेपाली समुदायसँग मात्र नभई अन्तर्राष्ट्रिय सांस्कृतिक नेटवर्कसँग समेत जोड्ने आधार तयार भएको सङ्घले जनाएको छ।
नयाँ निर्णयअनुसार अमेरिकामा दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडामा सङ्घका पूर्वउपाध्यक्ष श्याम अर्याल, जापानमा पूर्वसचिव उत्तम गौडेल र युरोप क्षेत्रमा मकवानपुर शाखाका पूर्वअध्यक्ष मणिराज गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ। यस्तै, अस्ट्रेलियामा सङ्घका सदस्य दीपेन्द्र घिमिरे, बेलायतमा सदस्य दीपश्न लुइँटेल तथा कतारमा चलचित्र पत्रकार कमल साउद संयोजक तोकिएका छन्।
सङ्घका अध्यक्ष समीर बलामीका अनुसार पछिल्लो समय विदेशमा नेपाली चलचित्र, सङ्गीत, साहित्यिक कार्यक्रम, कविगोष्ठी तथा सांस्कृतिक प्रस्तुतिहरू उल्लेखनीय रूपमा बढ्दै गएका छन्। साथै, नेपाली फिल्मको छायांकन र अन्तर्राष्ट्रिय बजार विस्तार पनि तीव्र रूपमा भइरहेकाले यस्तो सञ्जाल आवश्यक भएको उनले बताए।
विदेश च्याप्टरले केवल संस्थागत प्रतिनिधित्व मात्र नभई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, बजार विस्तार, सहकार्य तथा सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा समेत काम गर्ने अध्यक्ष बलामीको भनाइ छ। यसले नेपाली चलचित्र पत्रकारितालाई विश्व मञ्चमा अझ प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
यसअघि दुबईमा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय च्याप्टर गठन भइसकेको छ। सङ्घका महासचिव गोपिकृष्ण चापागाईंका अनुसार आगामी एक वर्षभित्र तोकिएका सबै देशमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चलचित्र पत्रकार सङ्घ नेपालले यो पहललाई नेपाली चलचित्र पत्रकारिताको इतिहासमा नयाँ अध्यायका रूपमा लिएको छ। यसले प्रवासमा रहेका नेपाली सिर्जनात्मक क्षेत्रलाई संस्थागत रूपले जोड्न दीर्घकालीन रणनीतिको काम गर्ने विश्वास लिइएको छ।