काठमाडौं :
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत ठमेलस्थित छाया सेन्टरमा तीन दिनसम्म चलेको उक्त महोत्सवमा विभिन्न जनराका चिनियाँ चलचित्रहरू प्रदर्शन गरिएका थिए।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको यस कार्यक्रममा कुल ९ वटा शो सञ्चालन गरिएका थिए। आयोजकका अनुसार तीन दिनको अवधिमा करिब १४ सय नेपाली दर्शकले यी चलचित्रहरू अवलोकन गरेका छन्। चिनियाँ चलचित्र हेरेपछि दर्शकहरूले नेपाली बजारमा पनि चिनियाँ फिल्मको व्यावसायिक प्रदर्शन हुनुपर्ने अपेक्षा राखेका छन्।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले यस कार्यक्रमपश्चात चिनियाँ चलचित्रकर्मीहरूले नेपाली बजारलाई गम्भीरताका साथ लिएको महसुस भएको बताए। उनले आगामी दिनमा चिनियाँ चलचित्रहरू नेपालमा नियमित र नेपाली चलचित्रहरू विभिन्न माध्यमबाट चिनियाँ बजारमा प्रदर्शन हुने वातावरण निर्माण हुनेमा आशा व्यक्त गरे। यस्ता कार्यक्रमहरूले दुवै देशका चलचित्रलाई एक-अर्काको बजारमा प्रवेश गराउन सेतुको काम गर्ने उनको भनाइ थियो।
नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सेलर चोउ पानले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानको सबैभन्दा जीवन्त माध्यम चलचित्र भएको उल्लेख गरे।
काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको सहयोगमा आयोजित महोत्सवमा ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’, ‘समर डायरी’, ‘द स्याडोलेस टावर’, ‘जर्नी टु द वेस्ट’ र ‘लस्ट इन द स्टार्स’ गरी ६ वटा चलचित्र प्रदर्शन गरिएका थिए। प्रदर्शन गरिएका चलचित्रहरूमा सस्पेन्स क्राइम, युद्ध, हाँस्य र सामाजिक विषयवस्तु समावेश थिए भने पहिलो दिन ‘द ट्रयाप्ड’का निर्देशक सागर झाङले नेपाली दर्शकसँग प्रत्यक्ष प्रश्नोत्तर समेत गरेका थिए।