सुचना, समाचार र मनोरन्जन

पोखरा १२ द्वारा न्यून आयस्रोत भएका वडाबासीका लागि म्यादी जीवन बीमा कार्यक्रम

पोखरा,

पोखराको वडा नम्बर १२ ले आर्थिक रूपमा कमजोर तथा न्यून आयस्रोत भएका वडाबासीहरूको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम सञ्चालन गरेको छ ।

वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार लक्षित वर्गका नागरिकहरूलाई जीवन बीमाको पहुँचमा ल्याई आकस्मिक मृत्यु वा अन्य जोखिमपूर्ण अवस्थाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो। उहाँले यस कार्यक्रमले विपन्न परिवारहरूलाई आर्थिक सुरक्षाको अनुभूति दिलाउनुका साथै सामाजिक संरक्षणको दायरा विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा वडाका विभिन्न टोलका न्यून आय भएका परिवारहरूलाई म्यादी जीवन बीमाको महत्व, प्रक्रिया तथा लाभबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई बीमाले परिवारको भविष्य सुरक्षित गर्न तथा आकस्मिक जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउने विषयमा सचेत गराइएको थियो।

वडा सदस्य शान्ति कोइराला ले सीमित आय भएका परिवारहरूका लागि पनि न्यून शुल्कमा बीमा गर्न सकिने भएकाले यस कार्यक्रमबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो।

गण्डकी प्रदेशका प्रमुख शिव प्रसाद पौडेलले आर्थिक जोखिम न्यूनीकरण तथा सामाजिक सुरक्षाको पहुँच विस्तारका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउनुभयो। वडा कार्यालयले आगामी दिनमा पनि सामाजिक सुरक्षा, वित्तीय साक्षरता तथा समुदायको हितसँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

स्थानीय बासिन्दाहरूले वडाको यस पहलले आर्थिक रूपमा कमजोर परिवारहरूको जीवनस्तर सुधार गर्न तथा भविष्यप्रतिको भरोसा बढाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।

उक्त कार्यक्रम शाखा प्रमुख अर्जुन सिग्देलले सञ्चालन गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.