सुचना, समाचार र मनोरन्जन

 नवआगन्तुक प्रमुख जिल्ला अधिकारीको सक्रियतामा फेवाताल सफाइ अभियान 

पोखरा,

प्रत्येक महिनाको ३ गते सञ्चालन हुँदै आएको फेवाताल सफाइ अभियान बुधबार हल्नचोक डुङ्गाघाटदेखि गहिराको चौतारासम्म उत्साहपूर्वक गरिएको छ ।

फेवाताल संरक्षण तथा सरसफाइको उद्देश्यले आयोजना गरिएको सफाई अभियानमा कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कुमानशिंह गुरुङ सहित विभिन्न सरकारी निकाय, जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय समुदाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको अभियान्ता राम बहादुर पौडेलले बताए।

सफाई अभियानमा सहभागी भएका सिडियो गुरुङले फेवाताल पोखराको मात्र गहना नभई नेपालकै पर्यटकीय सम्पती भएको भन्दै यसको संरक्षण र सफाईमा सबै पक्ष शक्रिय भएर लाग्नुपर्ने बताए ।

सफाइ अभियानमा वडा नं. ६ र ७ का वडा अध्यक्षहरू, कास्की प्रहरी प्रमुख, वडा प्रहरी कार्यालय वैदामका प्रमुख (डिएसपी), सशस्त्र प्रहरी बल कालिका गणका प्रतिनिधि, वडा नं. ५, ६ र ७ का वडा सदस्यहरू, फेवातालमा आश्रित जलारी समुदायका सदस्यहरू तथा विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए।

त्यसैगरी पोखरा महानगरपालिका अन्तर्गत सरसफाइ शाखा र महानगरीय प्रहरी बलको समेत सक्रिय सहयोग रहेको थियो। सहभागीहरूले फेवातालको स्वच्छता, सौन्दर्य संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

अभियानका क्रममा ताल क्षेत्रमा जम्मा भएका प्लास्टिकजन्य फोहोर, झारपात तथा अन्य अवाञ्छित वस्तुहरू संकलन गरी व्यवस्थापन गरिएको थियो। सहभागीहरूले फेवाताललाई स्वच्छ, सुन्दर र पर्यावरणमैत्री बनाउने साझा दायित्व पूरा गर्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन्।

फेवाताल संरक्षणलाई नागरिक अभियानका रूपमा अगाडि बढाउने उद्देश्यसहित प्रत्येक महिनाको ३ गते नियमित रूपमा सञ्चालन हुँदै आएको यो अभियानमा पछिल्ला दिनहरूमा स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सहभागिता बढ्दै गएको छ।

Leave A Reply

Your email address will not be published.