फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र डीआर कङ्गो खेल्दैछन् । समूह ‘के’ को यो खेल पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ ।
विश्वकपमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । फिफा वरीयतामा पोर्चुगल पाँचौँ र डीआर कङ्गो ४५औँ स्थानमा छ ।
पोर्चुगलको टोलीमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, रुबेन डियाजजस्ता खेलाडी छन् । ४१ वर्षीय रोनाल्डोले छैटौँ पटक विश्वकप खेलिरहँदा अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । पोर्चुगलले पछिल्ला ५ खेलमा ४ मा जीत र १ मा बराबरीको नतिजा निकालेको छ ।
यस्तै कङ्गो ५२ वर्षपछि विश्वकपमा फर्किएको हो । यसअघि कङ्गोले सन् १९७४ मा विश्वकप खेलेको थियो । त्यतिबेला कङ्गोको नाम जायर थियो ।
कङ्गोमा योआन विसा, चान्सल म्बेम्बा, स्यामुएल मुतुसामी जस्ता खेलाडी छन् । यद्दपि कङ्गोको विश्वकप तयारी राम्रो छैन । इबोला भाइरसको सङ्क्रमणका कारण टोलीको तयारी प्रभावित बनेको छ । कङ्गोले पछिल्ला ५ खेलमा २ मा जीत, २ मा हार र १ मा बराबरी खेलेको छ ।
आजै राति पौने २ बजे अमेरिकाको डालास रङ्गशालामा समूह ‘एल’ का इङ्ग्ल्यान्ड र क्रोएशिया खेल्दैछन् ।
यस्तै बिहान पौने ५ बजे क्यानडाको टोरन्टो रङ्गशालामा समूह ‘एल’ का घाना र पनामा खेल्दैछन् । यस्तै बिहान पौने ८ बजे मेक्सिको सिटी स्टेडियममा समूह ‘के’ का उज्वेकिस्तान र कोलम्बिया खेल्दैछन् ।