पोखरा :
पोखराका पत्रकार विजय नेपाललाई ‘रोटरी जर्नो अवार्ड’ प्रदान गरिएको छ। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) द्वारा उनीसहित देशभरका सात जना पत्रकारलाई शुक्रबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा जनही नगद ५१ हजार रुपैयाँसहित सो अवार्ड प्रदान गरिएको हो।
पाल्पाको रिब्दीकोट–७, मैनादी स्थायी घर भएका पत्रकार नेपाल विगत दुई दशकदेखि पोखरामा रही निरन्तर पत्रकारितामा क्रियाशील छन्। उनी आदर्श समाज दैनिकका कार्यकारी सम्पादक तथा राजधानी दैनिकका पोखरा संवाददाता हुन्।
सोही समारोहमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई रु १ लाख १ हजार राशिको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफटाइम अचीभमेन्ट अवार्ड’ प्रदान गरियो। रोटरी जर्नो अवार्ड प्राप्त गर्ने अन्य पत्रकारहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, सुनसरीका विकल रेग्मी, ओखलढुङ्गाका सरोज ढुङ्गेल, काठमाडौँकी उर्वशी बस्न्यात र बाँकेकी रूपा गहतराज रहेका छन्।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेसनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान र रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारहरूलाई पुरस्कृत गरेका थिए। पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन र सिर्जना गर्ने पत्रकारलाई रोटरीले सन् २०११ देखि रोटरी जर्नो अवार्ड प्रदान गर्दै आएको छ।
रोटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानी विभिन्न विधामा देशभरिबाट अनलाइन आवेदन माग गरेकोमा छनोट समितिले उत्कृष्ट पत्रकारहरूको छनोट गरेको रोटरी जर्नो अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्यले जानकारी दिए। फरक-फरक विधामा ५० पत्रकारका २६७ वटा समाचार सामग्री प्रतिस्पर्धामा रहेको उनले बताए।
जुरी प्यानलका कोअर्डिनेटर एवं वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारको क्षमताका आधारमा निकै स्वच्छ र पारदर्शी ढङ्गले उत्कृष्टको छनोट गरिएको स्पष्ट पारे।
प्रमुख अतिथि गोल्यानले पुरस्कृत पत्रकारहरूलाई बधाई दिँदै यस अवार्डबाट अब्बल र मेहनती पत्रकारहरूलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। रोटरी एक अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै समाजमा यसले गरेका कामहरूका कारण अचेल झन् बढी सकारात्मक प्रतिक्रिया सुन्न पाइएको उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष एवं डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले रोटरीले सामाजिक सेवा सँगसँगै पत्रकारहरूलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताए। विश्वभर रोटरीका १२ लाख सदस्य रहेको उल्लेख गर्दै उनले समाजमा ‘भोकेसनल सर्भिस’ (व्यावसायिक सेवा) लाई संस्थाले सधैँ विश्वास गर्ने बताए। “रोटरीले पेसागत मर्यादालाई उच्च सम्मान गर्छ,” कोइरालाले भने, “हामी स्वार्थभन्दा माथि उठेर श्रम, पैसा, समय र क्षमता समाजका लागि समर्पण (डोनेट) गर्छौँ।”