काठमाडौँ :
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्र ‘झिङ्गे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । निर्माण टिमले असार १५को अवसर पारेर फिल्ममा समावेश गीत रिलिज गरेको हो।
सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ। निकै मार्मिक शब्दहरू समेटिएको यस गीतमा आमाको महिमाको बयान गरिएको छ । साथै, आमाहरू वृद्धाश्रममा बस्नु परेको तीतो यथार्थलाई पनि गीतको भिडियोमार्फत उठान गरिएको छ, जसले चलचित्रको कथावस्तुको मूल भावलाई प्रतिनिधित्व गर्दछ ।
गीतको भिडियोमा अतिथि कलाकारहरू मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई देख्न सकिन्छ। साथमा चलचित्रका मुख्य कलाकारहरू आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुसाल र चैत्यदेवीलाई पनि भिडियोमा फिचर गरिएको छ। गीतको छायाङ्कनका लागि निर्माण पक्षले निकै मिहिनेत गरेको देखिन्छ।कोरियोग्राफर रामजी लामिछानेले गीतको भावअनुसार नै भिडियो तयार पारेका छन् ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। विष्णु घिमिरे ‘कल्पित’ को डीओपी रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, सङ्गम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोदकुमार पौडेल,आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापा लगायतको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको यस चलचित्रलाई गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् भने विवेक बस्नेत र ईश्वर सिङ्खेमानले छायाङ्कन गरेका हुन् । चलचित्रको निर्माण व्यवस्थापन ईश्वर घिमिरेले गरेका छन्। निर्माण पक्षले केही दिनअघि मात्र चलचित्रको पोस्टर सार्वजनिक गरेर चर्चा बटुलेको थियो। यस चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।