सुचना, समाचार र मनोरन्जन

असार २६ मा हुँदै ‘नेशनल म्युजिक अवार्ड’को भव्य आयोजना, १४ विधामा अवार्ड वितरण गरिने

काठमाडौँ ।

‘नेशनल म्युजिक अवार्ड’को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड सङ्गै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। कन्सर्टमा जोन एण्ड द लोकल्स देखि दिपक बज्राचार्य सहित अन्य चर्चित कलाकारहरू उजन साक्य, समृद्धि राई,मन्त्र ब्याण्ड, शिव परियार,यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिङ लामाको प्रस्तुति रहनेछ ।

अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक,उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट पप गायक र गायिका,उत्कृष्ट साङ्गीतिक समूह,उत्कृष्ट हिपहप र आर.एन.बि तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन्। त्यस्तै गीत सङ्गीतसहित कलाको क्षेत्रमा लामो समय देखि सेवा पुर्‍याउँदै आउनुभएका व्यक्तित्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । सो पुरस्कारको राशी १ लाख रुपैयाँ रहनेछ। स्रोताको समेत सहभागिता रहने पिपुल्स च्वाइस अवार्ड रहनेछ। यसका लागि सहभागीले ई सेवामार्फत भोट गर्नुपर्नेछ। सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ।

२०८२ वैशाख १ गते देखि २०८२ चैत्र मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्टमध्ये ५ जनाको मनोनयनका लागि तीन जनाको जुरि बनाइएको थियो। विभिन्न विधाका मनोनयन सोही जुरीको निर्णय अनुसार गरिएको हो।

कार्यक्रम साङ्गीतिक महोत्सवको रूपमा रहने जनाइएको छ। यस पटक कार्यक्रममा सयभन्दा बढी कलाकारहरू सहभागी हुनेछन्। कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्ड नेपाली सङ्गीत उद्योगको साझा थलो भएको उल्लेख गरे । उनले यसलाई समग्र नेपाली सङ्गीतकै उत्थान गर्ने इभेन्टको रूपमा लिन सञ्चारकर्मीहरूलाई आग्रह गरे।

Leave A Reply

Your email address will not be published.