काठमाडौंँ :
फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ। पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ। यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन।
टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक वुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ।
फिल्मको हाल धमाधम प्रि प्रोडक्सनको काम चलिरहेको छ। यो फिल्ममा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरु सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन्।
पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन्। यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेष्ट्री रोचक हुने पक्का छ। फिल्म ‘मन विनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो। फिल्ममा विपिनको प्रवेश भएपछि उत्साहित भएका निर्देशक वुढाथोकीले भने–‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं। उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो । दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन् ।’
गतबर्ष रिलिजमा आएको फिल्म ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्शन गरेको थियो। यो फिल्मको सफलताले उत्साहित टंकले यसपटक ‘मन विनाको धन २’लाई अझै बलियो बनाउने बताएका छन्।