काठमाडौं :
लामो विदा र दर्शकको ‘फेस्टिभ मुड’का कारण हरेक वर्ष निर्माताहरूको पहिलो रोजाइमा पर्ने दशैंमा यस वर्ष नेपाली फिल्मको भिडन्त झन् रोचक हुने संकेत देखिएको छ । विगतका वर्षहरूमा जस्तै दशैंको व्यापारिक माहौललाई क्यास गर्न यसपटक एकैसाथ पाँचवटा बिग बजेट र स्टारकास्ट फिल्महरू भिड्ने पक्का भएको हो ।
यसअघि नै दशैं प्रदर्शनलाई लक्षित गर्दै चार फिल्म ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’, ‘आ बाट आमा २’ र ‘बाटुलो जून’ले आफ्नो मिति सुरक्षित गरिसकेका छन् । जसमध्ये ‘आ बाट आमा २’ र ‘बाटुलो जून’ आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् भने प्रतीक्षित सिक्वेलहरू ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ फूलपातीको दिनबाट प्रदर्शन हुने सम्भावना छ।
यसै बीच यी चार फिल्मलाई चुनौती दिन दशैंको मैदानमा अर्को एउटा ठूलो फिल्म थपिएको छ। निर्देशक तथा निर्माता अशोक शर्माले आफ्नो नयाँ फिल्म ‘डबल ट्रिपल’लाई पनि दशैंमै रिलिज गर्ने निर्णय गरेका छन्। निकट स्रोतका अनुसार शर्माले केही दिनभित्रै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फूलपातीको अघिल्लो दिन अर्थात् असोज ३० गतेलाई आधिकारिक प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिरहेका छन्। फिल्मको छायांकन केही महिनाअघि नै पूरा भइसकेको छ।
अशोक शर्मा स्वयंको निर्देशन रहेको ‘डबल ट्रिपल’मा दयाहाङ राई, केकी अधिकारी, खगेन्द्र लामिछाने, मिरुना मगर र विल्सन विक्रम राई लगायतका स्थापित कलाकारहरूको मुख्य अभिनय रहेको छ। दशैंको महाभिडन्तमा पाँचवटै फिल्ममा नाम चलेका र दर्शकमाझ लोकप्रिय ‘स्टार’ कलाकारहरूको बाहुल्यता रहेका कारण बक्स अफिसमा कुन फिल्मले बाजी मार्छ र कसले कस्तो व्यापार गर्छ भन्ने कुरा यतिबेला चलचित्र वृत्तमा निकै चासो र चर्चाको विषय बनेको छ।