पोखरा,
पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । कलेजको सभाकक्षमा सम्पन्न कार्यक्रममा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।
विद्यार्थीहरुको समूहले फ्लाई दुवाईले पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरेको, पोखरा पर्यटन परिषदले रोपाईं महोत्सव आयोजना गरेको र पोखरा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गरेको विषयमा नमुना पत्रकार सम्मेलन प्रस्तुत गरेका थिए । त्यसै गरी पसल डट कमको सेवा विस्तार, साइमेक्स इनकर्पाेरेसनको विद्युतिय गाडी आयातको विवाद र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको प्रमुख कार्यकारी अधिकृत पक्राउको विषयवस्तुमा समेत विभिन्न भूमिकामा प्रस्तुत भई अभ्यान गरेका थिए ।

बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने सीप सिकेको कलेजको प्राचार्य लीना नेगी श्रेष्ठले बताउनुभयो ।
यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र मन क्षेत्रीले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गर्नुभएको थियो । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका पत्रकारहरुबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी सञ्चिता देवकोटाले बताउनुभयो ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए, बिबिए फाइनान्स र बिसिएसआईटी कार्यक्रममा अध्ययन गरिरहेका छन् ।
