सुचना, समाचार र मनोरन्जन

आइआइएफटिको ‘ड्रेस टु इम्प्रेस’: प्रेशा, सुस्मिता, जया र सृजना बने उत्कृष्ट फेसन डिजाइनर

काठमाडौँ :

फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी ‘इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन एन्ड इन्टेरियर डिजाइन’ (आइआइएफटि) ले स्थापनाकालदेखि विद्यार्थीहरूबिच काठमाडौँमा फेसन डिजाइन प्रतिस्पर्धा एवम् प्रस्तुति आयोजना गर्दै आएको छ। यसै क्रममा शनिबार साँझ ‘ड्रेस टु इम्प्रेस’को १३ औँ संस्करण अन्तर्गत फेसन डिजाइन प्रतिस्पर्धा सम्पन्न भएको छ।

यो प्रतिस्पर्धामा आइआइएफटि बागबजार र आइआइएफटि कुमारीपाटीका १५५ विद्यार्थीहरूले आफ्ना फेसन डिजाइनहरू प्रस्तुत गरे। ती डिजाइनहरू चार फरक अवधारणा ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वर्ल्ड’, ‘ग्यालाक्टिक फेसन’ र ‘अ प्यारालल युनिभर्स’ शीर्षकमा प्रस्तुत गरिएका थिए।

यी चार ‘सिक्वेन्स’मा भएको प्रतिस्पर्धामा उत्कृष्ट चार डिजाइनर चयन हुनुका साथै उनीहरू समारोहमा पुरस्कृतसमेत भए। जस अन्तर्गत ‘डान्सिङ विथ द स्टार्स’मा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. २४ प्रेशा थापाले र यही विधामा ‘पब्लिक च्वाइस अवार्ड’ प्रतियोगी नं. २१ सुजाता खनालले जितिन्। यस्तै ‘अराउन्ड द वर्ल्ड’ सिक्वेन्समा उत्कृष्ट डिजाइनर र ‘पब्लिक च्वाइस अवार्ड’ दुवै उपाधि सुस्मिता ढुङ्गानाले हात पारिन्।

१३ औँ ‘ड्रेस टु इम्प्रेस’को ‘ग्यालाक्टिक फेसन’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको उपाधि प्रतियोगी नं. १०८ जया थापा र ‘पब्लिक च्वाइस अवार्ड’ प्रतियोगी नं. ८४ अनुराधा बोहरा कार्कीले जिते। यस्तै ‘अ प्यारालल युनिभर्स’ सिक्वेन्समा उत्कृष्ट डिजाइनरको पुरस्कार प्रतियोगी नं. ११६ सृजना श्रेष्ठले र ‘पब्लिक च्वाइस अवार्ड’ श्रीति पाण्डेले हासिल गरे। समारोहमा हरेक उत्कृष्ट विधाका विजेताले जनही २० हजार रुपैयाँ तथा हरेक ‘पब्लिक च्वाइस’ विजेताले जनही १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहारहरू प्राप्त गरे।

समारोहमा विद्यार्थीहरूबिच भएको फेसन डिजाइन प्रतिस्पर्धाको निर्णायकहरूमा अग्रज फेसन डिजाइनर तथा उद्यमीहरू मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली र फेसन डिजाइनर महेश महर्जन रहेका थिए। फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा आयोजित समारोहमा नयाँ डिजाइनका फेसन हेर्न फेसन प्रेमीहरूको उपस्थिति बाक्लो थियो। करिब तीन घण्टासम्म चलेको यो फेसन डिजाइन प्रस्तुतिमा विद्यार्थीहरूको फेसन कलाले दर्शकको मन जित्यो। समारोहमा अभिनेत्री दिया मास्के, एलिजा गौतम, मिस इको इन्टरनेसनल सेजल राजभण्डारी एवम् सञ्चारकर्मी ओसिन सिटौलाको विशेष आतिथ्य र फेसन प्रस्तुतिले कार्यक्रमको माहोल अझ भव्य बनेको थियो।

चमकधमकसहितको आकर्षक लाइट र लयबद्ध सङ्गीतको तालमा क्याटवाक गर्दै भव्य स्टेजमा डिजाइनरहरूले आफ्ना डिजाइनमा आफैँ मोडल बनेर प्रस्तुत गर्दा कार्यक्रम अन्तर्राष्ट्रिय फेसन शो झैँ देखिएको थियो। विद्यार्थीहरूको फेसन डिजाइन प्रस्तुति ‘ड्रेस टु इम्प्रेस’लाई भव्य बनाउन आफूहरूले हरेक वर्ष कुनै कसर बाँकी नराखेको आइआइएफटिका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए। यसबाट विद्यार्थीहरूले नयाँ-नयाँ अवधारणा र मौलिक कला एवम् सिप प्रस्तुत गर्दै आफूलाई अझ निखार्ने अवसर पाउँदै आएको पनि प्रबन्ध निर्देशक शेर्पाले उल्लेख गरे।

Leave A Reply

Your email address will not be published.