काठमाडौं :
वर्षकै बहुप्रतिक्षित चलचित्रमध्येको एक ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ शुक्रबार राजधानीमा एक भव्य पत्रकार सम्मेलन (प्रेसमिट) आयोजना गरी सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको यो डान्सिङ बिटको गीतमा स्थापित गायक राजनराज शिवाकोटी र चर्चित गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ ।
बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको भिडियोमा अभिनेत्री नीति शाह, अभिनेता प्रभातपाल ठकुरी र नव–अभिनेत्री राजश्री थापालगायतका प्रमुख कलाकारहरूलाई आकर्षक रूपमा फिचर गरिएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा तयार भएको यो चलचित्र आगामी असोज ९ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ ।
गीत सार्वजनिक कार्यक्रममा गायक राजनराज र गायिका रचनाले ‘बदाम खजुर, दर्शन सलाम ढोग दियाँ जदौ हजुर…’ भन्दै गीतका गुनगुनाएर माहोललाई संगीतमय बनाएका थिए । संगीतकार तथा गायकका रूपमा स्थापित राजनराजले पहिलोपटक कुनै गीतमा स्वर मात्र दिएको प्रसंग उल्लेख गरे भने गायिका रचनाले राजनराजसँग पार्श्व गायन (प्लेब्याक सिंगिङ) मा यो नै आफ्नो पहिलो सहकार्य भएको बताइन् ।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायतको मुख्य अभिनय रहेको छ ।
कार्यक्रममा अभिनेत्री नीति शाहले ‘जदौ’ बजारमा आइरहेका अरू चलचित्रभन्दा भिन्न र यथार्थपरक कथामा निर्माण भएकाले दर्शकले मन पराउने आशा व्यक्त गरिन् । अभिनेता मुकुन भुसालले दर्शकले यस चलचित्रमा आफूलाई एउटा वास्तविक पात्रको रूपमा पाउने दाबी गरे भने अभिनेता प्रभातपालले यो फिल्म आफ्नो करियरका लागि निकै महत्वपूर्ण रहेको बताए । यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री राजश्रीले आफ्नो पहिलो प्रयास दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरिन् ।
चलचित्रका निर्देशक अन्जन शर्माले आफूहरूले प्राविधिक र कथा दुवै हिसाबले अब्बल फिल्म बनाउन कुनै कसर बाँकी नराखेको बताए । लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बुले फिल्मले भरपूर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देशसमेत प्रवाह गर्ने धारणा राखे ।
श्याम तामाङ र नवराज उप्रेतीले खिचेको यस फिल्मको सहनिर्मातामा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता शान्ति पुडासैनी हुन् भने प्रोडक्शन हेडको जिम्मेवारी बिमला भण्डारीले सम्हालेकी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशव्यापी रूपमा वितरण गर्दैछ ।