सुचना, समाचार र मनोरन्जन

पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा

पोखरा,

पोखरा प्रज्ञा प्रतिष्ठानका लागि नयाँ पदाधिकारीहरूको नाम सिफारिस गरिएको छ। पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको सिफारिस समितिले कुलपति, उपकुलपति, सदस्य–सचिव तथा सदस्य पदका लागि नाम सिफारिस गरेको हो।

समितिले प्रतिष्ठानको कुलपतिमा चर्चित कवि तथा उपन्यासकार सरस्वती प्रतीक्षालाई सिफारिस गरेको छ। प्रज्ञा प्रतिष्ठानको संरचनाअनुसार सात जना परिषद् सदस्य र १७ जना प्राज्ञ सभा सदस्य रहने व्यवस्था छ।

पोखरा महानगरपालिकाले सिफारिस भएका पदाधिकारीहरूलाई बुधबार नियुक्तिपत्र प्रदान गर्ने तयारी गरेको छ।

पोखरा प्रज्ञा प्रतिष्ठानले महानगर क्षेत्रभित्र कला, साहित्य, भाषा, संस्कृति तथा सिर्जनात्मक गतिविधिको संरक्षण, संवर्द्धन र विकासका क्षेत्रमा कार्य गर्दै आएको छ। नयाँ नेतृत्वको नियुक्तिसँगै प्रतिष्ठानका कार्यक्रम तथा गतिविधि थप प्रभावकारी र गतिशील हुने अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ।

कुलपतिका लागि सिफारिस भएकी सरस्वती प्रतीक्षा समकालीन नेपाली साहित्यकी चर्चित र लोकप्रिय कवि तथा उपन्यासकारका रूपमा परिचित छिन्। उनका साहित्यिक कृतिहरूले नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका छन्।

Leave A Reply

Your email address will not be published.