सुचना, समाचार र मनोरन्जन

धार्मिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको पक्षमा क्षत्री समाज नेपालको अपिल

पोखरा,

क्षत्री समाज नेपाल केन्द्रीय कार्य समिति, कास्की–पोखराले देशका विभिन्न स्थानमा पछिल्लो समय देखिएका धार्मिक विवाद, असहिष्णुता तथा हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

“राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता” भन्ने मूल नारालाई आत्मसात गर्दै समाजले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई थप सुदृढ बनाउन सबै नागरिकलाई आग्रह गरेको छ।
समाजका अनुसार सुनसरीको देवानगञ्जबाट सुरु भएको धार्मिक विवादका कारण विभिन्न जिल्लामा सामाजिक सद्भाव र एकतामा असर पुगेको तथा शान्ति–सुरक्षामा समेत चुनौती देखिएको छ। यस्तो अवस्थामा कुनै पनि धर्म, जाति वा समुदायप्रति घृणा, हिंसा वा वैमनस्य फैलाउने गतिविधिमा संलग्न नहुन समाजले अनुरोध गरेको छ।

क्षत्री समाज नेपालले सबै धर्म, आस्था र संस्कृतिप्रति समान सम्मान कायम राख्न, सामाजिक सद्भाव जोगाउन संयम, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न तथा कुनै पनि विवाद वा असहमतिलाई संविधान, कानुन, संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आग्रह गरेको छ।

त्यसैगरी सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रसारित अपुष्ट, भ्रामक वा उत्तेजनात्मक सामग्रीको सत्यतथ्य नबुझी साझा नगर्न र जिम्मेवार सूचना प्रवाह गर्न पनि समाजले सबैमा अपिल गरेको छ।

समाजले नेपाल सरकारसमक्ष देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न, संविधान र कानुनको निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्न तथा सबै नागरिकको मानव अधिकार, धार्मिक स्वतन्त्रता र संवैधानिक अधिकारको संरक्षण गर्न माग गरेको छ। साथै घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरेको छ।

क्षत्री समाज नेपालका अध्यक्ष रिब बहादुर थापा तथा सचिव शिव बहादुर थापाद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको पक्षमा सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरिएको छ।

Leave A Reply

Your email address will not be published.