सुचना, समाचार र मनोरन्जन

पोखरामा सार्वजनिक सरोकारमा नागरिक समाजको भूमिकाबारे अन्तरक्रिया

पोखरा,

पोखरामा सार्वजनिक सरोकारका विषयमा नागरिक समाजको भूमिका विषयक समसामयिक अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ।

नागरिक समाज पोखराको समन्वय तथा मुख्य न्यायाधिवक्ताको कार्यालय, गण्डकीको आयोजनामा भएको कार्यक्रममा नागरिक समाजको अवधारणा, यसको काम, कर्तव्य, अधिकार तथा सार्वजनिक सरोकारका विषयमा खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले पर्यटकीय नगरी पोखराको समग्र व्यवस्थापन, फेवाताल सरसफाइ तथा संरक्षण र फिर्केखोला संरक्षणलगायतका क्षेत्रमा नागरिक समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। सार्वजनिक सरोकारका विषयमा नागरिक समाजले सरकारलाई खबरदारीसँगै सहकार्य गर्दै आएको उनीहरूको भनाइ थियो।

कार्यक्रममा लेकसाइड क्षेत्रका व्यवसाय रातिसम्म सञ्चालन गर्न सर्वोच्च अदालतबाट भएको आदेशप्रति पनि सहभागीहरूले चासो व्यक्त गरेका थिए। अबेरसम्म व्यवसाय सञ्चालन हुँदा आसपासमा बसोबास गर्ने वृद्धवृद्धा, बालबालिका तथा विद्यार्थीमा नकारात्मक असर पर्न सक्ने भन्दै उनीहरूले व्यवसाय सञ्चालनसँगै स्थानीय बासिन्दाको शान्तिपूर्ण जीवनयापनको अधिकारलाई समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले सुन्दर, शान्त र व्यवस्थित पोखरा निर्माणका लागि आगामी दिनमा नागरिक समाजले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए। नागरिक समाजको क्षमता र भूमिकाअनुसार स्थानीय सरकारले प्रोत्साहन तथा जिम्मेवारी दिन पछि हट्न नहुने उनीहरूको जोड थियो।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, विभिन्न क्षेत्रमा क्रियाशील सामाजिक अभियन्ता, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.