पोखरा :
पोखरा उद्योग वाणिज्य सङ्घको भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनका लागि (खुला) कार्यसमिति सदस्य पदका ८ जना आकाङ्क्षी उम्मेदवारहरूले ‘व्यवसायीको बलियो आवाज, साझा प्रतिवद्धता संयुक्त सदस्यहरूको उमेदवारी’ भन्ने नाराका साथ संयुक्त चुनावी परिचालन समिति गठन गरेका छन्। सङ्घको विधान अनुसार खुलातर्फ १० जना सदस्य निर्वाचित हुने व्यवस्था भए पनि अध्यक्ष तथा पदाधिकारीहरूका साझा उम्मेदवारका रूपमा प्रस्तुत हुन ८ जना उम्मेदवार एकजुट भएका हुन्।
गठित समितिमा सूर्यराज घिमिरे (सुरेश) संयोजक, मनोहरि पौडेल प्रचारप्रसार संयोजक, नवीन नापित वस्तुगत समन्वय संयोजक, अमृत पोखरेल रुट व्यवस्थापन संयोजक, भानुभक्त अधिकारी स्वयंसेवक परिचालन संयोजक, राम कँडेल सचिवालय व्यवस्थापन संयोजक, दुर्गा बराल अर्थ व्यवस्थापन संयोजक र कमलबहादुर सुनार यातायात व्यवस्थापन संयोजक रहेका छन्।
उम्मेदवारहरूले चुनाव जित्नुका साथै सङ्घलाई अझ बलियो र प्रभावकारी बनाउन साझा घोषणापत्र, एउटै एजेन्डा र स्पष्ट सन्देशका साथ घरदैलो अभियान चलाउने निर्णय गरेका छन्। यसैबीच, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा परेका केही उजुरीउपर निर्वाचन समितिले पूर्वाग्रहपूर्ण निर्णय गरेको भन्दै उम्मेदवारहरूले आपत्ति समेत जनाएका छन्।