पोखरा,
पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा पर्यटन व्यवसायीहरूको छाता संस्थाका रूपमा क्रियाशील पोखरा पर्यटन परिषदको अध्यक्षमा हरि भुजेल निर्वाचित हुनुभएको छ।
बुधबार सम्पन्न परिषदको १४औँ अधिवेशनबाट निवर्तमान प्रथम उपाध्यक्षसमेत रहनुभएका भुजेलले अध्यक्षका अर्का प्रत्यासी कृष्ण भण्डारीलाई १४ मतान्तरले पराजित गर्दै नयाँ नेतृत्व सम्हाल्नुभएको हो।
अध्यक्ष पदका लागि भएको मतदानमा हरि भुजेलले २५ मत प्राप्त गर्नुभयो भने कृष्ण भण्डारीले ११ मत प्राप्त गर्नुभयो। कुल ३९ जना सदस्य प्रतिनिधि रहेको परिषदमा खसेका मतमध्ये तीन मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यसैगरी परिषदको सदस्यमा सुनिलबहादुर भट्टराई, बाबुराम पाण्डे, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायणप्रसाद सुवेदी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
परिषदका प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी भने नवनिर्वाचित कार्यसमितिको बैठकबाट चयन गरिने बताइएको छ।
पोखरालाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझ सशक्त रूपमा स्थापित गर्ने, पर्यटन व्यवसायीका साझा मुद्दालाई प्रभावकारी ढंगले उठाउने, पर्यटन प्रवर्द्धनलाई थप गति दिने तथा निजी क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउने जिम्मेवारी अब हरि भुजेल नेतृत्वको नयाँ कार्यसमितिमा आएको छ।