सुचना, समाचार र मनोरन्जन

प्रस्याङको सन्तानेश्वरमा महायज्ञ शुरू, पहिलो दिनमै ७७ लाख संकलन

पोखरा,

पोखरा महानगरपालिका–५ प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएका, घाइते तथा बेपत्ताको सम्झना र विश्व शान्तिको कामनासहित आयोजना गरिएको महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञअघि भव्य कलशसहित शान्ति पदयात्रासमेत आयोजना गरिएको थियो ।

महायज्ञको पहिलो दिनमै ७७ लाख रुपैयाँ संकलन भएको प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए । उनले सन्तानेश्वर महादेव मन्दिरलाई कलात्मक र आकर्षक स्वरूपमा निर्माण गरेरै छाड्ने अठोट व्यक्त गरे । उनका अनुसार महायज्ञबाट संकलित केही रकम बाढी पीडित राहत कोषमा जम्मा गरिनेछ।

महायज्ञ उद्घाटन गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा भरतबहादुर खत्रीले धार्मिक तथा सामाजिक कार्यमा गरिने दानबाट कहिल्यै हानी नहुने र त्यसको फल भविष्यमा प्राप्त हुने दाबी गरे ।

पोखरा–५ का वडाध्यक्ष एवं महायज्ञका प्रमुख संरक्षक बिष्णुप्रसाद बरालले देश शोकमा रहेका बेला मन्दिर निर्माणका लागि मात्रै नभई शान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको बताए । उनले महायज्ञ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिलकी प्रमुख सुधा दिदी, अग्रज समाजसेवी हेरम्बप्रसाद कोइराला, संस्थापक परिवारका सदस्य सुरेशचन्द्र कोइराला, प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल, अर्थ समिति संयोजक केशव अधिकारी, प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका उपाध्यक्ष विजयलक्ष्मी कोइराला र सचिव लक्ष्मण कोइरालालगायतले मन्तव्य राखेका थिए ।

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको महायज्ञमा विभिन्न देवलिला, संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

महायज्ञलाई धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढाइएको प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालले बताए ।

सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको विशाल शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने र दातालाई योगदानअनुसार सम्मान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहँदै आएको छ ।
मन्दिरको गर्भगृहमा रहेको एउटै शिलाका तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा छ । मन्दिर करिब ९२ वर्ष अघि स्थानीय लिलाधर कोइरालाले स्थापना गरेको बताइन्छ।

Leave A Reply

Your email address will not be published.