सुचना, समाचार र मनोरन्जन

बाढीपीडितका लागि जीवन विज्ञानको २५ लाख सहयोग

पोखरा,

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जीवन विज्ञान परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।

जीवन विज्ञान परिवारका तर्फबाट श्रद्धेय भानु गुरुदेवले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो। रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ।

जीवन विज्ञानले विपद्को समयमा आर्थिक सहयोगसँगै पीडितको मनोबल र आत्मविश्वास बढाउन मानसिक तथा भावनात्मक साथ पनि आवश्यक रहेको जनाएको छ। घरबार तथा सम्पत्ति गुमाउँदा उत्पन्न हुने निराशा, भय र असुरक्षाबाट माथि उठ्न पीडितलाई मनोपरामर्श र भावनात्मक सहयोग आवश्यक हुने उसको भनाइ छ।

यसैलाई ध्यानमा राख्दै जीवन विज्ञानले आर्थिक सहयोगमा मात्र सीमित नरही विपद् प्रभावित क्षेत्रमा मनोपरामर्श, स्वजागरण तथा जीवन विज्ञानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।

जीवन विज्ञान परिवारले विपद्पीडित नागरिकलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउँदै पुनःउत्थानका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहयोगले राहत कोषमा आर्थिक योगदानसँगै विपद्पीडित नागरिकमा साहस र आशाको सन्देशसमेत प्रवाह गर्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.