काठमाडौं :
हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’मा समावेश गीत ‘भगवान सबैको होइन र’रिलिज भएको छ। निर्माण टिमले फिल्म दोस्रो हप्तामा प्रवेश गरेसँगै प्रचारप्रसार स्वरुप अर्को गीत रिलिज गरेको हो।
सार्वजनिक गीतमा ममता गुरुङको स्वर रहेको छ भने गीतलाई प्रशान्त सिवाकोटीले संगीत भरेका छन्। शब्द रचना युवराज काफ्लेको छ। नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको यस फिल्मको कथा उनैको हो भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। फिल्ममा निर्देशक नीताका अलवा अशोक दर्जी,दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको अभिनय गरेका छन्।
फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी पहिरोको बिपत्तीको समयमा पनि दर्शकले यो फिल्मलाई साथ दिइरहेका छन्।
यसअघि दुई वटा गीत रिलिज भइसकेका छन्। अशोक दर्जी र बाबुल गिरीको स्वरमा ‘मेरी दिदी’ र रचना रिमाल,सरु गौतम र सहिमा श्रेष्ठको स्वरमा ‘नौतुना रेल’गीत रिलिज भएको थियो। यस गीतलाई दर्शक स्रोताले अध्यधिक मन पराएका थिए। अहिले सार्वजनिक भएको यो गीतलाई पनि दर्शकले अत्यधिक मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन्।