सुचना, समाचार र मनोरन्जन

सुपरस्टारसँग रोहित अधिकारीको लगातार सहकार्य, अनमोल र पलसँग दुई फिल्म बनाउँदै

काठमाडौं :

निर्माता रोहित अधिकारी नेपाली फिल्मका चर्चित स्टार कलाकारहरूसँग लगातार सहकार्य गर्ने तयारीमा देखिएका छन्। अनमोल केसीसँग महँगो पारिश्रमिकमा सम्झौता गरेसँगै रोहितले पल शाहलाई लिएर पनि नयाँ फिल्म निर्माण गर्ने तयारी अघि बढाएका छन्। रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने दुई नयाँ फिल्ममा नेपाली फिल्मका लोकप्रिय अभिनेता अनमोल केसी र पल शाह मुख्य भूमिकामा रहने भएका छन्। यससँगै रोहितको आगामी फिल्म यात्रामा नेपाली फिल्मका दुई स्टार अभिनेता जोडिएका छन्।

रोहितले यसअघि निर्माण गरेको सफल फिल्म ‘फर्की फर्की’को सिक्वेलमा अनमोल केसीलाई दोहो¥याउने तयारी गरेका छन्। अनमोलसँग हालै सम्झौता भइसकेको र फिल्मको निर्देशनका लागि सुयोग गुरुङ पनि अनुबन्धित भएका छन्। फिल्मको सिक्वेलको नाम ‘फर्की फर्कीः बियोन्ड टाइम’ राखिएको छ। फिल्ममा अनमोलसँगै जसिता गुरुङको जोडीलाई पनि निरन्तरता दिइने निर्माता रोहित अधिकारीले बताएका छन्। फिल्मको निर्मातामा शोभा ढकाल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहनेछन्।

हाल अनमोल ‘ए मेरो हजुर ५’को छायांकनमा व्यस्त छन् । त्यसपछि उनी रौनक विक्रम कडेलको निर्माणमा बन्ने अर्को फिल्ममा काम गर्नेछन् । त्यसपछि मात्रै ‘फर्की फर्कीः बियोन्ड टाइम’को छायांकन सुरु गर्ने तयारी छ । अनमोलसँगको सहकार्य अघि बढाइरहँदा रोहितले अर्का लोकप्रिय अभिनेता पल शाहसँग पनि नयाँ फिल्म निर्माण गर्ने तयारी गरेका छन्। पलसँग फिल्मका विषयमा मौखिक सहमति भइसकेको र औपचारिक सम्झौता हुन बाँकी रहेको रोहितले बताएका छन्।

पल अहिले ‘यानीमाया’मा व्यस्त छन् । दशैंमा रोहित अधिकारी र दीपकराज गिरी–दीपाश्री निरौलाको सहकार्यमा निर्माण भएको ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएपछि पलको ‘यानीमाया’को छायांकन पनि सकिनेछ । त्यसलगत्तै औपचारिक सम्झौता गरेर पुसको पहिलो साताबाट पलसँग नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारी रोहितको छ। पलको जोडीका रूपमा अभिनेत्रीको खोजी भइरहेको छ । यद्यपि, रोहितको ‘फर्की फर्की’मा अनमोलसँग जसिता गुरुङको जोडी सफल भएकाले नयाँ फिल्ममा पनि जसिता नै पलको जोडी बन्न सक्ने सम्भावनालाई नकारिएको छैन।

यसरी हेर्दा रोहित अधिकारी पछिल्लो समय नेपाली फिल्मका दुई लोकप्रिय स्टार—अनमोल केसी र पल शाहलाई लगातार आफ्नो फिल्ममा जोड्ने निर्माताका रूपमा अघि बढिरहेका छन्। पहिले पल शाहलाई लिएर फिल्म निर्माण गर्ने र त्यसपछि अनमोल केसीलाई लिएर ‘फर्की फर्कीः बियोन्ड टाइम’ निर्माण गर्ने उनको तयारी छ।

स्टार कलाकार, चर्चित निर्देशक र सफल फ्रेन्चाइजको सिक्वेललाई प्राथमिकतामा राख्दै रोहितले अघि बढाएको यो योजनाले उनको आगामी फिल्म यात्रालाई थप महत्वाकांक्षी बनाएको छ । ‘गाजलु’, ‘छ माया छप्पकै’, ‘फकी फर्की’, ‘माईतीघर’, ‘छ माया छप्पकै दुई’ र अब बन्ने दुई फिल्मको यात्राले रोहितलाई सानो उमेर मै नेपाली फिल्म उद्योगको लोकप्रिय व्यवासायिक निर्माताको छवि दिने निश्चि छ ।

Leave A Reply

Your email address will not be published.