सुचना, समाचार र मनोरन्जन

चिया पसलदेखि पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षसम्म : शोभा गौतमले रचिन् ७२ वर्षे इतिहास

पोखरा :

संघर्ष, निरन्तरता र नेतृत्वप्रतिको विश्वासले इतिहास बदल्न सक्छ भन्ने उदाहरण बनेकी छन् महिला उद्यमी शोभा गौतम। करिब २६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको कार्यालयअगाडि सानो चिया पसलबाट व्यवसायिक यात्रा सुरु गरेकी गौतम आज सोही संस्थाको ७२ वर्षे इतिहासमा पहिलो महिला अध्यक्षका रूपमा निर्वाचित हुँदै नयाँ इतिहास रचेकी छन्।

सानो चिया पसलबाट सुरु भएको उनको यात्रा सहज थिएन। मेहनत र आत्मविश्वासलाई साथ दिँदै उनले महेन्द्रपुलमा पुष्पाञ्जली ब्युटी पार्लर सञ्चालन गरिन्। त्यसपछि लुब्रिकेन्ट, फेसन तथा इभेन्ट मार्केटिङ, रेस्टुरेन्ट, कृषि र ग्रोसरीलगायत विभिन्न क्षेत्रमा आफ्नो व्यवसायिक यात्रा विस्तार गर्दै लगिन्। यही अनुभवले उनलाई साना तथा मझौला व्यवसायीका समस्या र सम्भावनासँग नजिकबाट जोड्यो।

विसं २०७३ मा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यका रूपमा संस्थागत यात्रा सुरु गरेकी गौतमले सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको जिम्मेवारी सम्हालिन्। कार्यसमिति सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएको अनुभव बोकेकी उनले अन्ततः अध्यक्षमा विजय हासिल गर्दै संघको नेतृत्वमा महिलाका लागि नयाँ ढोका खोलिदिएकी छन्।

‘सुदृढ संघ, सक्षम नेतृत्व’ को नारासहित चुनावी मैदानमा उत्रिएकी गौतमले संघलाई सबै उद्योगी–व्यवसायीको साझा घर बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन्। कृषि तथा पर्यटन प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, वित्तीय साक्षरता, सीप विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा ‘मेड इन पोखरा’ अभियान उनका प्राथमिक एजेन्डा हुन्।

उनको विजयलाई केवल एउटा पदमा प्राप्त सफलताका रूपमा मात्र होइन, सानो व्यवसायबाट पनि निरन्तर मेहनत, धैर्य र स्पष्ट लक्ष्यका साथ अघि बढ्दा नेतृत्वको सर्वोच्च जिम्मेवारीसम्म पुग्न सकिन्छ भन्ने प्रेरणादायी सन्देशका रूपमा हेर्न सकिन्छ।

चिया पसलबाट सुरु भएको २६ वर्षे संघर्षपूर्ण यात्रा आज इतिहास बनेको छ। शोभा गौतमको जितसँगै पोखरा उद्योग वाणिज्य संघले पहिलोपटक महिला अध्यक्ष पाएको छ—यो उपलब्धिले आगामी पुस्ताका महिला तथा युवा उद्यमीलाई नेतृत्वमा अघि बढ्न थप हौसला दिने अपेक्षा गरिएको छ। ऐतिहासिक विजयका लागि शोभा गौतमलाई हार्दिक बधाई तथा सफल, परिणाममुखी र व्यवसायीमैत्री कार्यकालको शुभकामना।

Leave A Reply

Your email address will not be published.