सुचना, समाचार र मनोरन्जन

९औँ विश्वकर्मा कप-२०८३ वडा स्तरीय भलिबल प्रतियोगिता हुँदै

पोखरा,

विश्वकर्मा समाज नेपाल, केन्द्रीय कार्यालय कास्कीको आयोजनामा आगामी असोज १ गतेदेखि ३ गतेसम्म पोखरा रंगशालामा ९औँ विश्वकर्मा कप–२०८३ वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा नेपालभरिका जुनसुकै वडाले आफ्नो प्रतिनिधित्व गर्दै सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। सहभागी टिमको संख्या २० मा सीमित नरहने भएकाले २० भन्दा बढी टिमको सहभागिता हुन सक्ने बताइएको छ।

विश्वकर्मा समाज नेपालले विश्वकर्मा पूजाको अवसर पारेर विगत एक दशकदेखि भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। गत वर्ष देशमा भएको ‘जेन्जी’ आन्दोलनका कारण प्रतियोगिता हुन नसकेपछि यस वर्ष पुनः निरन्तरता दिँदै नवौँ संस्करण आयोजना गर्न लागिएको हो।

समाजका अध्यक्ष बेलबहादुर विश्वकर्माले विश्वकर्मा समुदायको पहिचान, एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायमा रहेका खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए।

“विश्वकर्मा कप केवल खेलकुद प्रतियोगिता मात्र होइन, यसले विश्वकर्मा समुदायको पहिचान, एकता र सामाजिक सद्भावलाई जोड्ने काम पनि गर्दै आएको छ। यस प्रतियोगितामार्फत खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, अनुशासन, स्वस्थ प्रतिस्पर्धा र आपसी भाइचाराको भावना विकास गर्ने उद्देश्य राखेका छौँ,” अध्यक्ष विश्वकर्माले भने।

उनले प्रतियोगितालाई अझ व्यवस्थित, भव्य र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जनाउँदै प्रतियोगिता सफल बनाउन सम्पूर्ण वडाध्यक्ष, खेलाडी, खेलप्रेमी, संघसंस्था, शुभेच्छुक तथा आमसर्वसाधारणको सहयोग र सहभागिताका लागि आग्रह गरे।

समाजका खेलकुद संयोजक पिताम्बर सुनारले वडा तहमा रहेका प्रतिभाशाली खेलाडीको पहिचान र विकासका लागि प्रतियोगिता महत्वपूर्ण अवसर बन्ने बताए। “वडा तहमा धेरै प्रतिभाशाली खेलाडी छन्, तर उनीहरूले आफ्नो क्षमता देखाउने पर्याप्त अवसर पाइरहेका हुँदैनन्। वडा तहबाटै खेलाडीको पहिचान र विकास गर्न सके भलिबल खेलको स्तर अझ माथि उठाउन सकिन्छ,” उनले भने।

सुनारका अनुसार प्रतियोगितालाई प्रतिस्पर्धात्मकसँगै व्यवस्थित, अनुशासित र मर्यादित बनाउन आयोजकले आवश्यक तयारी गरिरहेको छ। प्रतियोगिताले देशभरिका वडा तहमा रहेका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्दै अगाडि बढ्ने अवसर प्रदान गर्ने उनले बताए।

इच्छुक वडा तथा टिमले भदौ ३१ गतेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्नेछ। आयोजकले देशभरिका इच्छुक वडा तथा खेलाडीलाई निर्धारित समयभित्र टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ।

प्रतियोगिताको विजेता टिमले रु। १ लाख, उपविजेताले रु। ५० हजार र तृतीय हुने टिमले रु। २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु। ३ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

यसैगरी, विधागत उत्कृष्टतर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो र उत्कृष्ट प्रशिक्षकलाई जनही रु। २ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विजेता तथा उत्कृष्ट खेलाडीलाई पदक तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

प्रतियोगिताका क्रममा विश्वकर्मा समुदायको कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएका छन्।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य तथा व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाइएको छ। प्रतियोगितामा देशका विभिन्न स्थानबाट खेलाडी तथा खेलप्रेमीको उल्लेख्य सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

Leave A Reply

Your email address will not be published.