काठमाडौं :
फिल्म ‘बेहुली’ बाटबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ। रिलिजको पहिलो दिन ठिकठाकै व्यापारको सुरुवात गरेको छ। साथै सम्पूर्ण कलाकारहरू यतिबेला विभिन्न हलहरूमा पुगिरहेका छन्। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’को उपनामले चिनिएका पारस बम ठकुरी,अभिनेत्री दिव्या रायमाझी, प्रहरीको दमदार अवतारमा देखिएका सुशान्त कार्की, लोकप्रिय कमेडियन पदम तामाङ र सन्तोष बानियालगायतका कलाकारहरू हलमा दर्शको प्रतिक्रिया लिइरहेका छन्।
नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाज, आइएनआई सिनेमाज, फ्रेन्ड्स सिनेमा, वन सिनेमा लगायतका देशभरका हलहरूमा फिल्मले सयभन्दा बढी शो पाएको थियो। वितरक गोविन्द शाहीले ‘बेहुली’ले अपेक्षाकृत र सानदार व्यापार गर्ने दृढ विश्वास व्यक्त गरेका छन्। उनले दर्शकको निरन्तर बढ्दो चापका कारण आगामी दिनमा फिल्मको शो सङ्ख्या अझै वृद्धि हुँदै जाने सङ्केत समेत दिएका छन्।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको यस चलचित्रले माया, पारिवारिक सम्बन्ध र मित्रताको कलात्मक कथा प्रस्तुत गरेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्ममा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका चर्चित अनुहारहरूको पनि सशक्त अभिनय रहेको छ। अर्जुन पोखरेल प्रस्तुतकर्ता र प्रताप शमशेर राणा निर्माता रहेको फिल्मको व्यापार कस्तो हुन्छ,केहि दिनमा नै थाहा हुन्छ है त।