काठमाडौं :
एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको तर्फबाट आधिकारिक प्रतिनिधिको रूपमा चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।
‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस’ (अस्कर) को अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले प्रतिस्पर्धाका लागि प्राप्त निवेदनमध्येबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ लाई सिफारिस गरेको हो।
यस वर्ष अस्करमा प्रतिस्पर्धाका लागि समितिमा ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ गरी दुई नेपाली कथानक चलचित्रले आवेदन दिएका थिए। “प्राप्त दुवै चलचित्रको मूल्याङ्कन गरी एकेडेमीका मापदण्ड अनुरूप प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ लाई छनोट गरिएको छ,” समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल यो चलचित्र गत शुक्रबारदेखि घरेलु बक्स अफिसमा प्रदर्शन भइरहेको छ। जङ्गली हात्तीको आतङ्कबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसङ्ख्यक समुदायको कथा समेटिएको यस चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायतका कलाकारको अभिनय छ। अविनाश विक्रम शाहको निर्देशन तथा पटकथा रहेको यस चलचित्रको कथा अविनाश र सन्दीप बादलले तयार पारेका हुन्। चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको हो।
चलचित्रका मुख्य निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। सह-निर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल छन्। चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रमा अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एसोसिएट निर्माताका रूपमा जोडिएका छन्। त्यस्तै, ‘अन्डरग्राउन्ड टकिज’ नेपालको तर्फबाट प्रवेश गुरुङ सह-निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एसोसिएट निर्माता रहेका छन्।