काठमाडौं :
आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिङ्गे दाउ २’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा दाजुभाइ तथा देउरानी-जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीजस्ता विषयलाई मुख्य विषयवस्तु बनाइएको छ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रियु नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा रहेका छन्।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको यस चलचित्रको कथा गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन्। विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन (DOP) रहेको चलचित्रमा मित्र डि. गुरुङको सम्पादन, अर्जुन पोखरेलको सङ्गीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ। चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।
चलचित्रमा केकी अधिकारी र आँचल शर्माका साथै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, सङ्गम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय रहेको छ।
यसअघि सार्वजनिक गरिएको चलचित्रको टिजर र ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज गीतले दर्शकको राम्रो साथ पाएका छन्। युट्युब र टिकटकमा भाइरल बनेको उक्त गीतले छोटो समयमै ३७ लाखभन्दा बढी ‘भ्युज’ पाइसकेको छ। पहिलो भाग ‘झिङ्गे दाउ’ ले युट्युबमा ८० लाखभन्दा बढी ‘भ्युज’ पाइसकेकाले दर्शकमाझ यसको दोस्रो भाग (सिक्वल) लाई लिएर निकै उत्सुकता देखिएको छ।