सुचना, समाचार र मनोरन्जन

‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को घोषणा: असोज १० गते अडिसन, मंसिर ५ मा ग्राण्ड फिनाले

काठमाडौं :

क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ आयोजना हुने भएको छ। प्रतियोगिताका लागि आवेदन फारामसमेत खुला गरिएको आयोजक संस्थाले जनाएको छ।

आयोजक संस्थाकी प्रमुख सुचिता सचीका अनुसार फेसन, सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता तथा प्रतिभालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको यस प्रतियोगिताले नेपाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

प्रतियोगिताका विभिन्न गतिविधिहरू सेप्टेम्बर ११ देखि नोभेम्बर २८, २०२६ (भदौ २५ देखि मंसिर १२, २०८३) सम्म विभिन्न चरणमा सञ्चालन हुनेछन्। प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका र न्यूनतम १५५ सेन्टिमिटर (५ फिट १ इन्च) उचाइ भएका युवतीहरूले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुन इच्छुकले १,००० रुपैयाँ आवेदन शुल्क बुझाउनुपर्नेछ। आवेदन फाराम संकलन पश्चात् आगामी असोज १० गते शनिबार अडिसन कार्यक्रम सञ्चालन गरिनेछ। अडिसनबाट छनोट भएका योग्य २५ जना प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइनेछ। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा आयोजना हुनेछ।

एउटै प्रतियोगिताबाट तीन अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिनिधि छनोट गरिने

आयोजक संस्थाले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ मार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन वटा अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने तयारी गरेको छ। एउटै राष्ट्रिय प्रतियोगिताबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतिनिधि छनोट गर्ने योजना अघि सारिएको हो।

विभिन्न उमेर समूहका लागि छुट्टाछुट्टै प्रतियोगिता १-२ महिनाको अन्तरमा आयोजना गर्दा व्यवस्थापनमा कठिनाइ हुने भएकाले एउटै आयोजनाबाट उपयुक्त प्रतिनिधि छनोट गर्ने अवधारणा ल्याइएको आयोजकले जनाएको छ। हाल १६ देखि ३०/३२ वर्षसम्मका प्रतियोगीलाई समेट्ने विषयमा छलफल भइरहेको र उमेर समूह तथा विभिन्न उपाधिबारे जानकारी आवेदन तथा अडिसन प्रक्रियामै स्पष्ट पारिनेछ। अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त ‘डाइरेक्टरसिप लेटर’ मा उल्लेखित आधिकारिक Title तथा प्रावधानलाई आधार बनाएर प्रतियोगिताको संरचनालाई अन्तिम रूप दिइनेछ।

भविष्यमा ‘मिस’ र ‘मिसेस’ विधाका प्रतियोगिता छुट्टाछुट्टै रूपमा वार्षिक आयोजना गर्ने योजना रहे तापनि तत्कालका लागि ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ लाई नै केन्द्रमा राखिएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व

प्रतियोगिताको मुख्य विजेताले सन् २०२६ को अन्त्यतिर भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

“प्रतियोगितामार्फत केवल बाह्य सौन्दर्यलाई मात्र नभई सहभागीको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली र सामाजिक चेतनाजस्ता पक्षलाई मूल्याङ्कन गरिनेछ,” सिआईएफटीकी प्रमुख सुचिता सचीले भनिन्।

फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीहरूलाई क्षमता प्रदर्शन गर्न र व्यावसायिक अवसर खोज्न यस प्रतियोगिताले महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने संस्थाको विश्वास छ।

आवेदन तथा प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक प्रतिनिधि माधुरी कर्णलाई सम्पर्क गर्न वा उपलब्ध गराइएको आधिकारिक लिङ्कमा क्लिक गरेर आवेदन फाराम भर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.