सुचना, समाचार र मनोरन्जन

९० प्रतिशत सकारात्मक प्रतिक्रियापछि अर्जुन पोखरेल उत्साहित, बन्ने भयो ‘बेहुली २’

काठमाडौं :

हरितालिका तीजको अवसरमा सोमबार नेपाली चलचित्र ‘बेहुली’ ले देशभर आक्रामक व्यापार गरेको छ। देशभर डेढ सय शो पाएको यस चलचित्रले तीजको दिन मात्रै ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाइ गर्ने अनुमान वितरक गोविन्द शाहीले गरेका छन्। पूर्वदेखि पश्चिमसम्मका हलहरू दर्शकले खचाखच भरिएका छन् भने कलाकारको कामलाई लिएर उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ। आगामी दिनमा पनि चलचित्रको कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ।

Pach Pandav

चर्चित तथा लोकप्रिय संगीतकारबाट यसै चलचित्रमार्फत पहिलो पटक निर्माता बनेका अर्जुन पोखरेलले स्वतन्त्र रूपमा संगीत सिर्जना गर्नुभन्दा चलचित्र निर्माणमा आउँदा आर्थिक लगानीको ठूलो दबाब महसुस भएको बताएका छन्। यद्यपि, दर्शकबाट पाएको अपार माया र ९० प्रतिशत सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उनले सुनाए। दर्शकको यही साथलाई आत्मसात् गर्दै उनले अब हरेक वर्ष एउटा चलचित्र बनाउने घोषणा गरेका छन्। आगामी मंसिरमा नयाँ चलचित्रको घोषणा गर्ने तयारीमा रहेका अर्जुनले २०८४ सालमा ‘बेहुली’को दोस्रो शृङ्खला (बेहुली २) दर्शकमाझ ल्याउने जानकारी दिएका छन्।

यसैबीच चलचित्रका मुख्य कलाकारहरू पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ र निर्देशक सशान कँडेललगायतको टोली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न चितवन पुगेको छ। यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ। चलचित्रलाई माधव शर्माले लेखन तथा सशान कँडेलले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् भने कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल तथा सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

Leave A Reply

Your email address will not be published.