पोखरा:
पोखराका प्रतिष्ठित व्यवसायी प्रदीप कोइराला ‘एशियन प्रोफेशनल्स एचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ। आफ्नो क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान, लगनशीलता र कडा परिश्रमको कदर गर्दै उहाँलाई पूर्वराष्ट्रपतिबाट सो सम्मान प्रदान गरिएको हो।

‘पोखरा बाराही ज्वेलर्स’ तथा ‘फेवा डेन्टल क्लिनिक’का सञ्चालक समेत रहनुभएका कोइराला व्यावसायिक सफलतासँगै सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँले व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुर्गम क्षेत्रका बालबालिकादेखि सहरी क्षेत्रका सर्वसाधारणसम्मलाई विभिन्न सेवामूलक सहयोग उपलब्ध गराउँदै आउनुभएको छ।
सामाजिक अभियानका क्रममा सञ्चालक कोइरालाले हिमाली जिल्ला मुगु पुगेर आधारभूत सुविधाबाट वञ्चित तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो। भौगोलिक रूपमा विकट मुगुका बालबालिकाको शिक्षामा पहुँच पुर्याउने र उनीहरूको उज्ज्वल भविष्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले उहाँले सो सहयोग गर्नुभएको हो।
यसैगरी, पोखराको व्यस्त व्यापारिक केन्द्र चिप्लेढुङ्गास्थित पोखरा बाराही ज्वेलर्स अगाडि उहाँले सर्वसाधारणका लागि निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गर्नुभएको छ। मुख्य बजार क्षेत्रमा आवतजावत गर्ने बटुवा, ग्राहक तथा स्थानीयवासीलाई लक्षित गरी सञ्चालित यस अभियान मार्फत दैनिक ५० देखि ६० जार शुद्ध खानेपानी निःशुल्क वितरण भइरहेको छ। आफ्नो उत्कृष्ट सेवा, व्यावसायिक लगनशीलता र निरन्तरको सामाजिक कर्मका माध्यमबाट व्यवसायी कोइरालाले पोखराको व्यावसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।