सेप्टेम्बर ११ देखि अमेरिकाका सिनमार्क टिनसल्टोन रोचेस्टर साँझ ६ बजे, मार्कस पिकरिङटन सिनेमा साँझ ६ : २०मा, एप्पल सिनेमाज ह्वाइट प्लेन्स साँझ ६ : ३० बजे र सिनमार्क कुयाहोगा फलस् एण्ड एक्सडी दिउँसो १ : २५ बजे चलचित्र प्रदर्शन भइरहेको छ। हल पुगेका नेपाली दर्शकहरूले चलचित्रको कथावस्तुका साथै मुख्य अभिनेत्री नीता ढुङ्गाना र बालकलाकार अशोक दर्जीको अभिनयको उच्च प्रशंसा गरेका छन्।
विदेशमा रहेका नेपाली दर्शकबाट पाएको अगाध माया र सकारात्मक प्रतिक्रियाले अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना निकै उत्साहित रहेकी छन्। ‘मनदेखि बनाएको र फरक विषयवस्तुमा आधारित चलचित्रलाई दर्शकले रुचाउनुभएको छ, आगामी दिनमा पनि यस्तै साथ पाउने आशा छ’,उनले भनिन्।
हरिहर अधिकारी निर्माता र शंकर पाण्डे कार्यकारी निर्माता रहेको यस चलचित्रको कथा निर्देशक स्वयं नीताको हो भने पटकथा शिवम् अधिकारीले लेख्नुभएको हो। चलचित्रमा नीता र अशोकका साथै दीपाश्री निरौला, राज पंगेनी, दीप्त प्रकाश अधिकारी, सिरु बिष्ट, आशा पौडेल, सुवास गजुरेल, राधिका कँडेल र राजेन्द्र नेपालीलगायतका कलाकारको मुख्य अभिनय छ।
सुदीप बरालको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको यस चलचित्रका ‘तुनाको रेल’ र ‘दिदी भाइ’ बोलका गीतहरू प्रदर्शनअघि नै निकै चर्चामा रहेका थिए। नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण गरेको यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।