काठमाडौं :
चलचित्र ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ को प्रवेश भएको छ। निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ चलचित्र ‘साम्राज्य’मा अमरलाई अनुबन्ध गराएका हुन्।सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइलीको प्रवेशपछि अमरले यो सिनेमामा प्रवेश गरेका छन्
यो सिनेमाका लागि भनेरै अमरले साढे २ वर्षदेखि तालिम लिइरहेको निर्देशक सौरभ बताउँछन्। “साढे दुई वर्षदेखि मेरो सल्लाहमा अमरले एक्टिङ, एक्सन, मार्सल आर्ट र डान्सको ट्रेनिङ उहाँले गर्नुभएको छ,” उनले भने, “एउटा सिनेमाका लागि साढे २ वर्षदेखि तयारी गर्नु भनेको सानो लगाव र डेडिकेसन होइन।”

तयारी र तालिमले नै उनले मुख्यमध्ये एक भूमिकामा अवसर पाएको सौरभले बताए। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्ने भएको छ । ‘एपिक एक्सन ड्रामा’ हुने यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन्।
सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा सिनेमा बनाउने योजनामा छन्। यो नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन सिनेमा हुने निर्माण पक्षको दाबी छ।
चलचित्रको केही समयपछि छायांकनमा जाने तयारीमा छ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ। यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन्। को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।
मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्। डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ। यो चलचित्रको वितरकमा डिसीएन रहेको छ।