काठमाडौँ :
अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक चलचित्र ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ। आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको उक्त चलचित्रको गीत मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
युग भुसालको शब्द तथा सङ्गीत रहेको गीतमा भारतीय गायक गौरांग शेखर शर्मा र गायिका ज्योत्सना जावडाको स्वर छ। किरण थापाको कोरियोग्राफी र सौरभ लामाको छायाङ्कन रहेको भिडियोमा अभिनेता निखिल उप्रेती र अभिनेत्री सजिना श्रेष्ठलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

‘निखिल उप्रेती प्रोडक्सन’को ब्यानरमा निर्माण भएको यस चलचित्रबाट पूर्णिका सिंजापतिले अभिनेत्रीका रूपमा डेब्यू गरेकी छन्। चलचित्रमा निखिल र सजिनाका साथै प्रमोद अग्रहरी, सञ्जय गुप्ता, रोहित चौधरी, ध्रुव कोइराला, सरिता ज्ञवाली तथा भारतीय कलाकारहरू दीपराज राणा, रघु बाबु र रघू कारुमन्ची लगायतको अभिनय छ।
निखिल स्वयंको लेखन रहेको चलचित्रमा कृष्ण भट्टराई निर्माता र मिथिलेश तिवारी कार्यकारी निर्माता छन्। चलचित्रमा मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन रहेको छ।